काठमाडौँ १७ भदौ निवर्तमान जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख रुपैयाँ बक्यौता छ । सुरुमा साइकल चढेर चर्चामा रहेका मन्त्री पासवान एक महिनापछि गाडी चढ्न थालेका थिए ।
त्यसपछि जिल्लाका कार्यक्रम जाँदा प्रायजसो हेलिकोप्टर चढ्ने गर्थे । बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवान मन्त्रीबाट बाहिरिएको एक महिना भइसकेको छ । तर, उनले भाडामा हेलिकोप्टर चढेको रकम अझै भुक्तानी भएको छैन । पासवानले मन्त्रालयको खर्च कम गर्ने तथा वातावरणमैत्री भन्दै सुरुमा साइकल चढेर मिडियामा प्रचारबाजी गरेका थिए । पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ नपाएपछि पासवान गौशालामा भाडाको घरमा बस्थे ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
गौशालादेखि मन्त्रालय उनले साइकलबाटै ओहोर–दोहोर गर्थे । पासवानको साइकल यात्रा एक महिनासम्म मात्र चलेको मन्त्रालयका एक कर्मचारीले बताए । ‘मन्त्रीज्यू करिब एक महिनासम्म त साइकलमा आउने–जाने गर्नुभयो,’ ती कर्मचारीले भने, ‘त्यसपछि साइकल छाडेर गाडीमै आउने–जाने गर्नुभयो ।’
मितव्ययी भन्दै साइकलप्रेमी बनेका तत्कालीन मन्त्री पासवान एक महिनापछि गाडीमा र त्यसपछि हेलिकोप्टर प्रयोगमा अगाडि देखिएका हुन् ।
पासवानले हेलिकोप्टर चढेको चार लाख भाडा बक्यौता
मन्त्री छँदा पासवानले सेनाको हेलिकोप्टर पटक–पटक प्रयोग गरेका थिए । मन्त्रालयका अनुसार आफ्नो कार्यकालमा उनको हेलिकोप्टर भाडा मात्र १७ लाख रुपैयाँभन्दा धेरै पुगेको थियो । तर, पछिल्लो दुईपटक हेलिकोप्टर चढेको भाडा तीन लाख ७२ हजार नौ सय १४ रुपैयाँ मात्र उनले नबुझाएका हुन् ।
पासवानले काठमाडौंदेखि गौर, राजापुर गोलठा भन्ने ठाउँमा जाँदा दुई घन्टा ३५ मिनेटको दुई लाख १६ हजार ६ सय ७० रुपैयाँ र काठमाडौं–सिरहा ओहोर–दोहोर गर्दाको एक घन्टा ४५ मिनेटको एक लाख ५६ हजार दुई सय ४४ रुपैयाँ भाडा रकम बुझाउन बाँकी रहेको सैनिक स्रोतको भनाइ छ ।
पासवानले धेरैजसो सामान्य तथा पार्टीको काममा जाँदा र केहीपटक सोलार उद्घाटन गर्न जाँदा हेलिकोप्टर प्रयोग गर्ने गरेको मन्त्रालय स्रोतले बतायो ।
हेलिकोप्टर भाडाका लागि मन्त्रालयमा निरन्तर ताकेता गर्दा पनि भुक्तानी नभएको सैनिक स्रोतले बतायो । सेनाको हेलिकोप्टर प्रयोग गरेपछि मन्त्री स्वयं वा मन्त्रालयले भाडा बुझाउनुपर्ने सेनाको भनाइ छ ।
प्रकाशित मिति: १७ भाद्र २०७३, शुक्रबार ०७:२८