काठमाडौं, १५ भदौ । संविधानसभावाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ ।
संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानन्यायधिश, सभामुखसहित उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, राज्यका प्रमुख निकायका पदाधिकारी, राजनीतिक दल, जनसमुदाय र संघ संस्थाका प्रतिनिधि समेतको सहभागिता रहेको मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समितिले विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ । यस अवसरमा असोज ३ गते विहान ८ वजे सैनिक मञ्च टुडिखेलमा मूल समारोहको आयोजना गरिने छ ।
संविधान दिवस मूल समारोह समितिको पहिलो बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने–संविधान घोषणा भएको १ वर्ष पूरा भएको अवसरमा पहिलो संविधान दिवस मनाउँदैछौं, यो हामी सबैका लागि गर्वको विषय हो । उनले भने–लामो संघर्ष र वलिदानीपछि संविधानसभावाट संविधान घोषणा गरेका छौं, सार्वभौम जनतावाट घोषणा भएको यो संविधान विगतभन्दा गतिशील, परिवर्तनशील र ऐतिहासिक छ ।
प्रधानमन्त्री दाहालले संविधानमा राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र जस्ता विषय बाहेक सबै विषय परिमार्जन हुन सक्ने बताए । उनले भने–हामीले गत १ वर्षमा २ पटक संविधान संशोधन गरेर थप गतिशील बनायौं र आगामी दिनमा पनि अझै फराकिलो ढंगले असन्तुष्ट समुदायका माग सम्वोधन गरी संविधानलाई सर्वस्विकार्य बनाउन सरकार प्रयत्नशील छ ।
उनले विश्वका संविधानका तुलनामा नेपालको संविधानमा मौलिकता झल्किएको बताए । उनले भने–संविधानलाई जनताको चाहना बमोजिम अगाडि जाने संकल्प गर्ने दिनका रुपमा लिन जरुरी छ ।
प्रकाशित मिति: १५ भाद्र २०७३, बुधबार १७:००