बनेपा, १५ भदौ । भूकम्पपीडितले सरकारले प्रदान गर्ने पहिलो किस्ताको रकम नपाएको भन्दै काभ्रेपलाञ्चोकमा करिब २१ हजार ५०० जनाले गुनासो गरेका छन् ।
जिल्लाका सम्बन्धित गाविस तथा नगरपालिकामा २१ हजार ४३६ जनाले गुनासो दर्ता गराउँदै घर निर्माणका लागि अविलम्ब पहिलो किस्ताको रकम उपलब्ध गराउन माग गरेका छन् । धेरै प्रकृतिका गुनासो आएका छन्, त्यसमा नाम छुटाएको, नामथर गलत भएको लगायतका छन् राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका सिनियर डिभिजनल इन्जिनियर होमनाथ पौडेलले भने ।
उनले विभिन्न गाविस र नगरपालिकामा त्यस्ता गुनासोको सम्बोधनसमेत भएको उल्लेख गर्दै ठूला प्रकृतिका गुनासा केन्द्रबाट नै सम्बोधन हुने बताए । रविओपी गाविसका सचिव छविलाल श्रेष्ठले सानातिना विषयमा गुनासो सम्बोधन भएपनि नीतिगत विषयमा कुनै काम नभएको बताए ।
काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी काशिखण्ड नगरपालिकामा एक हजार ५८९, पनौती नगरपालिकामा एक हजार ८००, पाँचखाल नगरपालिकामा एक हजार ८००, धुलिखेल नगरपालिकामा ५६४, उग्रचण्डीनाला गाविसमा ५३३, बनेपा नगरपालिकामा ४७६, मेच्छे गाविसमा ४६८, महादेवस्थान गाविसमा ४५३ जनाले गुनासो गरेको जिल्ला विकास समितिले जनाएको छ । जिल्लाभर ७२ गाविस र पाँच नगरपालिकामा नै भूकम्पपीडितले गुनासो गरेका छन् ।
अहिलेसम्म जिल्लामा ४८ हजार ३५१ जनासँग अनुदान सम्झौता भएको र १९ हजार ५३७ जनाको खातामा पहिलो किस्ताबापतको रु ५० हजार निकासा भएको जिविस, काभ्रेपलाञ्चोकका योजना अधिकृत ढोलक ढकालले जानकारी दिए । उनले भुम्लुटार, फलाटे र पोखरी नारायणस्थान गाविसमा अझै पनि अनुदान सम्झौता हुन नसकेको उल्लेख गर्दै भुम्लुटार र फलाटेमा लालपुर्जा नभएका कारण र पोखरी नारायणस्थान गाविसमा स्थानीयवासीको अवरोधका कारण अनुदान सम्झौता नभएको बताए ।
नभएका ठाउँमा पनि अनुदान सम्झौताका लागि पहल भइरहेको उनले बताए । जिल्लामा कुल ६७ हजार ५०० को हाराहारीमा लाभग्राही छन् । रासस