फलेवास (पर्वत), १५ भदौ । निरन्तरको वर्षाका कारण पीडित बनेका जिल्लाका पहिरोपीडितलाई मङ्गलबार कुस्माबजारमा राहत सामग्री वितरण गरिएको छ ।
सामाजिक सेवामा क्रियाशील लायन्स क्लबले पर्वत जिल्लाका विभिन्न गाविसमा रहेका २५ जना पहिरोपीडितलाई तत्कालका लागि राहत मिलोस् भनेर विभिन्न बन्दोबस्तीका सामान वितरण गरिएको हो ।
पर्वतस्थित विभिन्न ६ वटा लायन्स क्लबको आयोजनामा एक कार्यक्रम गरी मङ्गलबार उक्त राहत रकम वितरण गरिएको थियो । उनीहरुलाई १५ किलोग्राम चामल, दाल, नुन, तेल, कम्बल, तन्ना र भाँडाकुँडालगायत सामान सहयोग गरिएको हो ।
विगतको भूकम्पपछि कमजोर बनेको जमिन निरन्तर वर्षाका कारण कमजोर बनेपछि पहिरो आई बगाउँदा २५ घरपरिवार घरवारविहीन बनेका छन् । अहिले तीमध्ये कतिपय घर छाडेर आफन्तकामा र केही अस्थायी आवास बनाएर बस्न बाध्य भएका छन् ।
उनीहरुलाई जनही नौ हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको लायन्स क्लब अफ शिवालयका अध्यक्ष विषमकुमार श्रेष्ठले जानकारी दिए । पीडितलाई सुरक्षित आवासमा पुनः स्थापना नहुने बेलासम्म खान बस्नका लागि सहज होस् भनेर उक्त राहत सामग्री हस्तान्तरण गरिएको उनले बताए ।
यसैबीच, राहत हस्तान्तरण कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पीडितको पीडामा थोरै भएपनि मल्हम लगाउने उद्देश्यले लायन्स क्लबले गरेको राहत सहयोगको प्रशंसा गरकाे थिए । उनले पीडितलाई उच्च सतर्कता अपनाउन आग्रह पनि गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वी का पूर्व डिस्ट्रिक्ट गभर्नर युक्तप्रसाद श्रेष्ठले लायन्स क्लबले विभिन्न क्षेत्रमा अवसरबाट वञ्चित बनेका वर्गलाई आर्थिक, भौतिक तथा अन्य सहयोग गर्दै आएको बताए । क्लबले निकट भविष्यमै शिवालय उच्च मावि कुश्मामा सञ्चालित दृष्टिविहीन कक्षामा अध्ययनरत विद्यार्थीलाई आर्थिक तथा विभिन्न सामग्री सहयोग गर्ने जनाएको छ । रासस