काठमाडौं, १५ भदौ । नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्ध मंगलबारदेखि नै कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । प्रतिवन्धसँगै उनीहरुले यसअघि नेपाल सरकार, पर्यटन विभागबाट पाएको आरोहणको प्रमाणपत्रसमेत रद्द भएको छ ।
छानबिन समितिले गर्यो प्रमाणित
महाराष्ट्र प्रहरीमा अधिकृतका रुपमा कार्यरत यो जोडीले सगरमाथा आरोहण गर्ने पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेको थियो । मकालु एडभेन्चर प्रालिबाट आरोहणका लागि २ जना शेर्पा सहयोगीका साथ गएको टोलीले २३ मे अर्थात् १० जेठमा सगरमाथा शिखरको सफल आरोहणको दाबी प्रस्तुत गरेको थियो ।
राथोड जोडीको दाबी संचारमाध्यममा आएपछि भारतकै अन्य आरोहीले उनीहरुको आरोहणका सम्बन्धमा प्रश्न उठाउँदै नक्कली तस्वीर पेश भएको जिकिर गरेका थिए ।
त्यसपछि मन्त्रालयले राथोड जोडीको तथ्य पत्ता लगाउन उपसचिव टिकाराम पाण्डेको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितिमा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा र फोटो पत्रकार रामकृष्ण महर्जन सदस्य थिए ।
समितिले राथोड दम्पत्तिबाट नक्कली तस्वीर पेश भएको प्रमाणित गरेपछि उनीहरुमाथि प्रतिवन्ध लागेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।
प्रकाशित मिति: १५ भाद्र २०७३, बुधबार ०७:४६