सिन्धुपाल्चोक १५ भदौ -विनासकारी भूकम्पको झण्डै १६ महिनापछि आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गाउँ जान थालेको छ। अनुदान सम्झौता थालेको साढे तीन महिनापछि गाउँका पीडितले पहिलो किस्ता पाउन थालेका हुन्। यसअघि अनुदान वितरण सदरमुकाम रहेको चौतारा र पश्चिमी क्षेत्रको मुकाम मेलम्ची नगरपालिकामा मात्र केन्द्रित थियो।
सातादेखि गाउँमा अनुदान बापतको पहिलो किस्ता निकासा भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख भुवनेश्वर लामिछानेले बताए। उनका अनुसार सोमबार एकैदिन विभिन्न गाविसका ९ हजारभन्दा बढी पीडितलाई बैंकमार्फत पहिलो किस्ता उपलब्ध गराइएको छ । योसमेत पहिलो किस्ता ५० हजार पाउने पीडित लाभग्राहीको संख्या ३१ हजार ५ सय ३३ पुगेको छ।नागरिक दैनिकमा खबर छ ।
‘अनुदान वितरणले बल्ल गति लिएको छ । अझै तीव्रता पाउँछौं,’ चौतारा नगरपालिकाको कार्यकारी अधिकृतको भूमिकामा समेत रहेका लामिछानेले नागरिकसँग भने । गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडित लाभग्राहीमध्ये झण्डै ४० प्रतिशतले पहिलो किस्ता पाएका हुन्। हिमाली गाविस हगाम, हेलम्बु, तातोपानी, पाङताङ, बरुवा, बाँसखर्क, गुम्बा, गुन्सा गोल्चे, घोर्थली, चकटी, ठूलोधादिङ लगायत २९ गाविसका पीडित विभिन्न बैंक मार्फत अनुदान बुझिरहेका छन्।
चौतारा र मेलम्ची नगरपालिकाका पीडितले यसअघि नै पहिलो किस्ता पाइसेका छन् । दुई नगरपालिका र ६८ गावस रहेको यो जिल्लामा पहिलो चरणमा अनुदान पाउने लाभग्राहीको संख्या ७८ हजार ५ सय ३७ रहेको छ । दुबै नगरपालिका र ५९ गाविसका ६६ हजार पीडितसँग अनुदान सम्झौता भइसकेको प्रमुख लामिछानेले बताए। उनकाअनुसार आठ गाविसका पीडितसँग सम्झौता भइरहेको छ । ‘केही साताभित्रै सम्झौता सक्दैछौं,’ उनले भने।
बिवादका कारण तौथली गाविसमा अनुदान सम्झौता स्थगित छ । अनुदान पाउने लाभग्राहीको सूचीमा धेरै पीडित छुटेको भन्दै उक्त गुनासो समाधान नभएसम्म सम्झौता नगर्ने अडानमा स्थानीय छन्। समस्या सल्टाउन प्रयास भइरहेको लामछिाने बताउँछन्। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको सिन्धुपाल्चोक भ्रमण र त्यतिबेलै परिवर्तित सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र ११ जिल्लाका ५ लाख लाभग्राहीलाई पहिलो किस्ता उपलब्ध गराइसक्ने घोषणापछि सम्झौता र अनुदान वितरणले तीव्रता पाएको हो ।
प्राधिकरण बनेको सात महिनापछि त्यसका प्रमुख ज्ञवालीले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकको गत साउन २५ गते अनुगमन भ्रमण गरेका थिए ।
प्रकाशित मिति: १५ भाद्र २०७३, बुधबार ०७:१९