सुर्खेत, १४ भदौ । साना किसान कृषि सहकारी संस्थाले आर्थिक वर्ष २०७१/७२ मा कुल २ करोड ६४ लाख ७२ हजार ७ सय ५८ रुपैयाँको कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थालाई १ लाख ५७ हजार ६ सय ८२ रुपैयाँ नाफा आर्जन गरेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव रेणु आचार्यले संस्थाले यस वर्षमा बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था संग सहकार्य गरेर आफ्ना सदस्यलाई धेरै सेवा पुर्याएको बताएकी छन् । संस्थाले नेपाल सरकारको साना तथा मझौला कृषक आय स्तर बृद्धि आयोजनाबाट ३२ लाख बराबर कार्यक्रम सञ्चालन गरी आफ्ना सदस्यहरुलाई सेवा पुर्याँदै आएको छ ।
संस्थाले सोलार सिस्टमबाट पानी तान्ने प्रविधि मार्फत बेमौसमी तरकारी खेती गर्नमा सदस्यहरुलाई सहयोग पुर्याएको संस्थाकी सचिव आचार्यले बताइन् । जिल्ला कृषि बिकास कार्यालय सुर्खेतको सहयोगमा भर्मिक कम्पोष्ट मल उत्पादन गरी अर्गानिक खेती गर्न सदस्यहरुलाई प्रोत्साहन गरेको उनले बताइन् ।
संस्थाको विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि आ.व. २०७३/७४ को प्रस्तावित ३ करोड ७५ लाखको अनुमानित आय/व्ययको योजना बनाइएको संस्थाका अध्यक्ष ज्ञानु भुषालले बताइन् ।
छोटो समयमा नै संस्थाले आधुनिक प्रविधि उपयोग गरी खाद्यान्न तथा नगदे बाली उत्पादन, नयाँ प्रविधिको विस्तार, सदस्यको चेतना एवं आयस्तर बृद्धि गरेको सहभागिहरुले बताएका छन् । संस्थाको उक्त सभामा जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले अबको ५ वर्ष भित्र यस संस्था मध्यपश्चिम क्षेत्रकै प्रविधि विकास तथा नमुना कृषि सहकारीको रुपमा चिनिने विश्वास व्यक्त गरे ।
यसैबीच संस्थाले संस्थाको बिभिन्न क्षेत्रमा सहयोग पुर्याएको भन्दै जिल्ला कृषि विकास कार्यालय सुर्खेतका कर्मचारी खगेन्द्रबहादुर खत्रीलाई सम्मान गरेको छ ।
यसैगरी संस्थामा उत्कृष्ट काम गर्ने कर्मचारी भानुमति बोहरा, संस्थाका उत्कृष्ट कृषकहरु मध्ये धेरै गड्यौला उत्पादन गर्ने, आलु बिउ उत्पादन गर्ने व्यवसायिक तरकारी उत्पादन गर्ने कृषकहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको सोम ढकालले बताएका छन् । संस्थाले विगतमा झै यस वर्ष पनि २६ जना एकल महिलालाई सम्मान, ३ जनालाई छात्रबृत्ति, बचत ऋण र शेयरमा उत्कृष्ट समुह सदस्यलाई पुरस्कृत गरेको छ ।
प्रकाशित मिति: १४ भाद्र २०७३, मंगलवार १८:३७