काठमाडौँ, १४ भदौ । पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्च वर्षिय योजनाको खाका (पिडिआरएफ)लाई स्थानीयकरण गरिने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको पिडिआरएफका आधारमा गाविस, जिविस र नगरपालिकाहरुमा योजना बनाइने र सोही अनुसार पुनर्निर्माण र पुनर्स्थापनाका योजनाहरु अघि बढने भएका छन् ।
प्रशिक्षकहरुलाई प्रशिक्षण दिन आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण र पुनर्स्थापनाका कामहरु अघि बढाउनका लागि पिडिआरएफलाई स्थानीय योजनासँग एकीकृत गर्न आवश्यक भएको र सोही अनुसार प्राधिकरण अघि बढेको बताए ।
पिडिआरएफलाई सुरुमा जिल्ला विकास समिति र नगरपालिकाका आवधिक योजनामा समावेश गर्दै गाविसका योजनालाई पनि समावेश गर्नुपर्छ, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।
स्थानीय तहको आवश्यकतालाई हेरेर योजनाहरु बनाउने र आवश्यक परे पिडिआरएफलाई संशोधन गर्दै जाने प्राधिकरणको योजना छ ।
एकीकृत पुनर्स्थापना योजना कार्यान्वयनले जोखिममा रहेका समुहहरु, शारीरिक रुपमा अशक्त, एकल महिला, महिला घरमुली भएका परिवार, नीजि क्षेत्र लगायत जिल्लाका सबै सरोकारवालाहरुको आवश्यकता समेट्ने र स्थानीय तहमै आर्थिक पुनर्स्थापनामा लगायतमा सहयोग पुर्याउनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय योजना आयोग र संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अघि बढने कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्राविधिक सहयोग गर्नेछ ।
प्रशिक्षकहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा प्राधिकरण, स्थानीय विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका दुई दर्जन अधिकारी सहभागी छन् । प्रशिक्षण लिएपछि उनीहरुले जिल्ला तहमा पुगी अरुलाई प्रशिक्षण दिनेछन् । त्यसपछि गाउँ विकास समितिसम्म छलफल अघि बढाउने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: १४ भाद्र २०७३, मंगलवार १८:०९