जाजरकोट, १४ भदौ । जाजरकोट भेरीमालिका नगरपालिका २ रिसाङ्गकि शारदा शर्माले आफ्ना निर्दोष बुवालाई वेपत्ता पार्ने सुरक्षाकर्मीलाई कारवाहीको माग गरिन् । वेपत्ता दिवसको अवसरमा आयोजित कार्यक्रममा शारदाले आफ्ना बुवा बेपत्ता भएको १६ वर्ष विति सक्दा पनि कुनै अत्तोपत्तो नभएको गुनासो गरिन् ।
आफु ८ वर्षको हुँदा अध्ययन गर्न नेपालगञ्ज गएका आफ्ना बुवा शिवप्रसाद शर्मालाई तत्कालीन शाही नेपाली सेनाले २०५८ सालमा बेपत्ता बनाएको उनले बताइन् । बुवालाई बेपत्ता पारिएपछि आफु, बहिनी र आमा आशु बगाएरै जीउन बाध्य भएको बताइन् । उनले घरमुली बुवा नहुँदा जीवन निर्वाहमा निकै समस्या परेको दुखेसो पोखिन । उनले मरेको वा बाँचेको अवस्था सार्वजनिक गर्न माग गरिन् ।
जाजरकोट भेरीमालिका नगरपालिका ४ की राज्यलक्ष्मी खनालले पतिलाई बेपत्ता बनाएपछि आफ्नो जीवन निर्वाहमा निकै समस्या परेको गुनासो गरिन् । जिल्ला प्रहरी कार्यालय जाजरकोट परिसरमा रहेको कालिका मन्दिरका पुजारी रहेका शर्मालाई सुराकीको आरोपमा विद्रोही माओवादीले २०५८ सालमा अपहरण गरी वेपत्ता बनाएका थिए । आफ्ना पतिको सास वा लासको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्नेलाई कारवाही गर्न माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरिन् ।
रेडक्रसले आयोजना गरेको अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा जिल्ला सदरमुकाममा आज आयोजित कार्यक्रममा राज्य तथा तत्कालीन विद्राही माओवादी दुवैले बेपत्ता पारिएका परिवारका आफन्त, जिल्ला स्थित राजनैतिक दल, स्थानीय प्रशासन, सुरक्षा अधिकारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले द्वन्द्वकालीन अवस्थामा भएका राजनैतिक घटनालाई राजनैतिक तवरले नै समाधान गरिनु पर्ने र पीडित परिवारको चित्त बुझ्ने गरी वेपत्ताको अवस्था जे छ त्यही सार्वजनिक गरिनु पर्ने बताए । जाजरकोटमा ११ जना बेपत्ताको सूचीमा रहेका छन् ।
प्रकाशित मिति: १४ भाद्र २०७३, मंगलवार १८:००