काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्धारण र संविधान संशोधनका सम्बन्धमा छलफलका लागि बोलाएको तीन दलको बैठकमा वर्तमान उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र पूर्व उपप्रधानमन्त्री एंव एमाले उपाध्यक्ष भीम रावलबीच विवाद भएपछि निष्कर्षविहीन भएको छ । उनीहरुका बीचमा संविधान संशोधनका विषयमा विवाद बढ्दै जाँदा चर्काचर्की भएको हो । एमाले उपाध्यक्ष रावलले संविधान संसोधनको बिषयमा नीधिले भारत भ्रमणका क्रममा नेपालमा छलफल नगरि छलफल गरेको आरोप लगाएपछि दुई नेताका बीचमा चर्काचर्की भएको हो ।
प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्धारण र संविधान संशोधनमा सबै जना मिलेर जानु आवश्यक हुने भन्दै संवादको सुरुवात गरेका थिए । एमालेका नेताहरुले भने यसअघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले स्थानीय निकाय निर्धारण आयोगलाई दिएको मापदण्ड फेर्न खोजेको हो की भन्ने आशंका व्यक्त गरेका थिए । साथै आयोगलाई काम गर्न दिनु पर्ने अडान राखेका थिए ।
संविधान संशोधनको सम्बन्धमा पनि किन, कस्का लागि र के संशोधन गर्ने हो त्यो स्पष्ट हुनुपर्ने एमाले नेताहरुको भनाई थियो । त्यसैगरी सत्तारुढ दलको तर्फबाट आर्थिक विधेयकहरु निर्माण तथा पारितका लागि पूर्व अर्थमन्त्रीसमेत रहेको समिति बनाउने प्रस्ताव गरेको थियो । त्यसको जवाफमा एमाले नेताहरुले यसअघि सरकार निर्माणको क्रममा ति विधेयकहरु संसदमा अस्वीकृत गरिएकाले पहिला त्यसको जवाफ दिनुपर्ने, गल्ती भएको महशुस भएको होभने गल्ती भयो भनेर स्वीकार गर्नुपर्ने अन्यथा आफ्नो पार्टीको तर्फबाट कोही पनि समितिमा नबस्ने बताएका थिए ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा, कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु रामशरण महत, पूर्णबहादुर खड्का, उपप्रधान एवं गृह मन्त्री निधि र सहरी विकास मन्त्री अर्जुननरसिंह केसी सहभागी थिएभने एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम, उपाध्यक्ष रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी थिए ।
प्रकाशित मिति: १४ भाद्र २०७३, मंगलवार १४:५२