देउखुरी, १४ भदौ । कालो कोट लगाई अदालतमा सधै चर्काे स्वरमा वहस गर्ने अधिवक्ता रामसरण चौधरी शनिबार देउखुरीको वेला गाविस ८ स्थित यादव वस्तीमा बाल श्रम, बाल विवाह र बाल अधिकारका बारेमा कानुनी प्राव्धानका बारेमा सम्झाउँदै थिए ।
झट् हेर्दा कसैलाई हप्काउँदै वा कानुनका बारेमा जानकारी गराउँदै गरेको सयौ संख्यामा घेरिएको दृश्यमा अधिवक्ता चौधरी देखिनुको प्रसंग थियो, बाल अधिकार तथा बालश्रम विषयक चेतनामुलक सडक नाटक ।
प्रदर्शन गरिएको सडक नाटकमा चम्फा र चमेली एक गरिब परिवारका बालबालिका हुन् । चम्फा र चमेलीको बुवा एक जडिहा भएकै कारण उनीहरु काम गर्न घर निर्माणमा जान्छन् उनीहरुका वुवा दिन भरी जुवा तास खेल्ने र साँझ मदिरा सेवन गरी घरमा आई श्रीमति तथा छोरीलाई गाली गलोज गर्ने प्रवृत्तिको परिवार हुन्छ तर सोही गाउँका अर्काे परिवारका अभिभावकले भने आफुले काम गरी आफ्ना छोराछोरीको भविष्यका लागि स्कुलमा पढ्न पठाउने गरेको अवस्थाको चित्रण गरेको नाटक देउखुरीको गोवरडिहा र वेला गाविसमा देखाइएको थियो ।
ग्रामीण क्षेत्रको परिवेशलाई समेटेर देखाइएको नाटकले बाल अधिकार र बाल विवाहले समाजमा पारेको प्रभावलाई प्रस्ट पारेको थियो । क्षणिक प्रलोभनमा परी बालबालिकाहरुलाई काम लगाउने तथा बालविवाहले पछि समाज तथा स्वयं बालबालिकाहरुलाई कस्तो कस्तो समस्या भोग्नु पर्छ भन्ने विषयलाई नाटकको विषय वस्तु बनाइएको थियो ।
नाटकमा अभिनय गरेका पात्रहरु चम्फा र चमेली १३ वर्षको उमेरमा जोखिमपूर्ण घर निर्माण जस्ता काम गर्ने तथा विद्यालय पढ्न समेत नपाएको र बावुले मादक पदार्थ सेवन गरी छोरीहरुलाई कुटपिट गर्ने समयमा अधिवक्ता रामसरण चौधरीको प्रवेशले बाल अधिकार, बाल विवाह र बालश्रमका बारेमा कानुनी प्राव्धानका बारेमा चर्चा गर्दा नाटक हेर्न आएका गम्भीर भएका थिए ।
नाटककै बीचमा एक जना स्थानीयको प्रवेश भयो र उनका प्रश्न र जिज्ञासा तेर्सीन थाल्यो । वेला ८ भैसाइ की सीता विकले आफ्नो वास्तविक घटना सुनाइन् । उनकी १४ वर्षकी छोरी जो बाल विवाह भयो तर उनले छोरीलाई घर फर्काइ ल्याइ सकेपछिका अवस्थामा भोग्नु पर्ने समस्याका कुरा सुन्दा सबैमा मलिन्ता छायो ।
यो मात्र समाजको एउटा प्रतिनिधित्व घटना मात्र हो । दाङ जिल्लामा अहिले पनि १६ वर्ष मुनिका बालबालिकाहरु प्रत्येक्ष र अप्रत्यक्ष रुपमा होटल, इँटा भट्टा र ज्यालादारीमा श्रम गरिरहेको पाइएको छ । कानुनले १६ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाए कानुन बमोजिम कारवाही समेत हुने उल्लेख गरिएको छ तर पनि अझै पनि यो वा त्यो वहानामा बाल अधिकार हनन् भइरहेको विभिन्न गैरसरकारी संघ संस्थाको विवरणमा उल्लेख भएको पाइन्छ ।
पछिल्लो समयमा बाल श्रमको स्वरुप फेरिएको र अभिभावकलाई विभिन्न प्रलोभन पारी बालबालिकाहरुलाई श्रम तथा विवाह गराउने विरुद्ध्र चेतना जगाउन यस्तो नाटक प्रदर्शन गरिएको आयोजक सिपि नेपालका प्रशासन तथा लेखा प्रमुख सुजित शर्माले बताए ।
क्रिटिन पोसीलिविटिज नेपाल(सिपि नेपाल)संस्था काठमाडाँैमा दर्ता भई दाङको गंगापरस्पुरमा कार्यालय स्थापन गरी लामो समय देखि बाल बालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
सिपि नेपालले वाल श्रम न्यूनिकरण बाल विवाह न्यूनिकरण गर्न बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्दै आइरहेको छ । टि.डि.एच. नेदरल्याणको आर्थिक सहयोगमा सिपि नेपालको आयोजनामा वेला ८ भैसाइ र गोवडिहाको १ कालाकाटेमा नाटक प्रर्दशन गरेको हो ।
सिपि नेपालले बाल श्रम न्यूनिकरणका लागि शिक्षा सहयोग कार्यक्रम अन्तर्गत देउखुरीका गढवा, वेला, गोवडिहा र सिसहनियाका ११ विधालयमा १ सय विद्यार्थीलाई अध्ययनमा सहयोग र ३८ जना बालबालिकाहरुलाई साइकल वितरणका साथै बाल श्रम तथा बालविवाह न्यूनिकरणका लागि ४ गाविसमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रशासन तथा लेखा प्रमुख सुजित शर्माले जानकारी दिए ।
प्रकाशित मिति: १४ भाद्र २०७३, मंगलवार १४:४०