काठमाडौ १४ भदौ-महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या घटेको छ । गत आर्थिक वर्ष (आव) २०७२/७३ मा अघिल्लो आव २०७१/७२ को तुलनामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या घटेको हो । ग्रामीण क्षेत्रमा आव २०७१/७२ देखि तथा शहरी क्षेत्रमा आव २०७२/७३ मा त्यस अगाडिको तुलनामा सङ्ख्या घटेको हो ।
नेपालभर आव २०७२/७३ मा १ लाख २५ हजार ९ सय ३३ जना महिलाको नाममा जग्गा पास भएको भूमिसुधार तथा व्यवस्थापन विभागले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या आव २०७१/७२ को भन्दा ७५ हजार २४ जनाले कम हो । आव २०७१/७२ मा २ लाख ९ सय ५७ जना महिलाको नाममा जग्गा पास भएको थियो ।
समाजमा बढ्दो पारिवारिक विचलनका कारणले यो सङ्ख्या घटेको हुनसक्ने भूमिसुधार तथा व्यवस्थापन विभागका निर्देशक सुशीलप्रसाद आचार्यले बताए । ‘वैदेशिक रोजगारीमा धेरै पुरुष गएकाले पनि महिलालाई सम्पत्तिको बढी हकदार बनाएको थियो,’ उनले भने, ‘सम्पत्ति आप्mनो नाममा भएपछि कतिपय श्रीमतीले दोस्रो विवाह गरिदिनाले पनि अहिले यो सङ्ख्या घटेको हो ।’
त्यसरी महिलाको नाममा पास गरिएको जग्गा ३ वर्षभित्रै पुनः विक्री गरेमा छूट रकम फिर्ता गर्नुपर्ने व्यवस्थाका कारण पनि सङ्ख्या घटेको भनाइ छ । केही समययता जग्गाको मूल्य छिटोछिटो बढेकाले वास्तविक जग्गा खरीदकर्ताभन्दा मुनाफा आर्जन गर्ने हिसाबले जग्गामा लगानी गर्नेहरू धेरै बढेका छन् । व्यावसायिक हिसाबले खरीद गरिएको जग्गा ३ वर्षभित्रै पुनः विक्री गर्ने भएकाले छूट रकमले आकर्षित नगरेको जग्गा खरीद विक्रेताहरू बताउँछन् ।
सरकारले आव २०६४/६५ देखि जग्गा पास गर्दा महिलालाई छूट दिन थालेपछि महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या वर्षेनि बढ्दै गएको थियो । सरकारले महिलाको नाममा जग्गा पास गर्दा शहरी क्षेत्रमा २५ प्रतिशत तथा ग्रामीण क्षेत्रमा ३० प्रतिशत छूट दिँदै आएको छ । सरकारले जग्गामा महिलाको स्वामित्व बढाउन छूट दिने नीति बनाए पनि सङ्ख्या विगतका वर्षमा केही बढेको भए पनि वास्तविक हकदार भने थोरै मात्रले बढेको जानकारहरू बताउँछन् ।आर्थिक अभियान दैनिकमा खबर छ ।
नेपालभरका मालपोत कार्यालयबाट आव २०६७/६८ मा २ लाख १५ हजार ३ सय ७४ जना महिलाको नाममा जग्गा पास भएको भूमिसुधार तथा व्यवस्थापन विभागले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ । त्यस्तै विभागको तथ्याङ्कअनुसार आव २०६८/६९ मा २ लाख ३४ हजार ६ सय ६९, आव २०६९/७० मा २ लाख २९ हजार ४ सय ८१ तथा आव २०७०/७१ मा २ लाख ६७ हजार २ सय ६२ जना महिलाको नाममा जग्गा पास भएको देखिन्छ ।
विशेष गरेर बढी मूल्यका जग्गा महिलाको नाममा पास हुने गरेको छ । महिलाको नाममा पास गर्दा २५ प्रतिशत छूट पाइने भएकाले करोडौंको जग्गामा त्यो छूटले ठूलो अर्थ राख्ने सम्बद्धहरू बताउँछन् । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छूट दिँदैआएको छ । ७० वर्षमाथि उमेरका वृद्धको नाममा स्वामित्व दर्ता भएमा पनि महिलासरह राजस्वमा छूट दिने व्यवस्था छ भने सीमान्तकृत समुदायको नाममा राजिस्ट्रेशन पास गर्दासमेत शहरी क्षेत्रमा २५ र ग्रामीण क्षेत्रका भए ३० प्रतिशतसम्म छूट दिने सरकारी व्यवस्था छ ।
प्रकाशित मिति: १४ भाद्र २०७३, मंगलवार ०६:५०