काठमाडौं, १४ भदौ – काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन् । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता छन् ।
तीमध्ये अधिकांश उपत्यकाभित्रै चल्छन् । विभागका अनुसार दर्ता भएकामध्ये ७० प्रतिशत सवारीसाधन दिनको एकपटक सडकमा निस्कन्छन् । यस आधारमा उपत्यकाभित्रका सडकमा मात्रै दैनिक ६ लाख ४६ हजार ३० सवारीसाधन गुड्ने गरेको विभागको अनुमान छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
विभागका उपमहानिर्देशक तथा प्रवक्ता वसन्त अधिकारीले उपत्यकामा दैनिक पाँच लाखभन्दा धेरैको संख्यामा साना–ठूला यातायातका साधन गुड्ने गरेको बताए ।
कति छन् मुलुकभर गाडी ?
विभागको तथ्यांकअनुसार मुलुकभर २३ लाख २७ हजार ६ सय १६ सवारीसाधन दर्ता छन् । त्यसमध्ये ७० प्रतिशत सवारीसाधन सञ्चालनमा छन् ।
बाँकी ३० प्रतिशत भने बिग्रिएर थन्किएका छन् । दर्ता भएकामध्ये ३९.६५ प्रतिशत सवारीसाधन बागमती अञ्चलमा दर्ता भएका छन् । यो भनेको नौ लाख २२ हजार नौ सय हो । बागमती अञ्चलबाहेक मात्रै झन्डै ६० प्रतिशत सवारीसाधन दर्ता भएका छन् ।
यो भनेको १४ लाख चार हजार सात सय १६ हो । सात लाख २२ हजार मोटरसाइकल दर्ता विभागका अनुसार उपत्यकाभित्र गुड्ने सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकलको संख्या छ । बागमती अञ्चलमा मात्रै सात लाख २२,७२२ मोटरसाइकल दर्ता भएका छन् ।
दर्ता भएकामध्ये अधिकांश मोटरसाइकल उपत्यकाभित्रकै सडकमा सञ्चालन हुन्छन् । ‘उपत्यकाबाहिर दर्ता भएका सवारीसाधन पनि उपत्यकामा सञ्चालन हुन्छन्, त्यसैले उपत्यकामा गुड्ने सवारीका साधनको संख्या बढी भएको हो,’ प्रवक्ता अधिकारीले भने । तथ्यांकअनुसार ६० प्रतिशत सवारीसाधनको दर्ता उपत्यकाबाहिर छ । ती सवारीसाधन कुनै न कुनै बहानमा उपत्यका भित्रिन्छन् । तर, विभागसँग ती सवारीसाधनको यकिन तथ्यांक भने छैन ।
प्रकाशित मिति: १४ भाद्र २०७३, मंगलवार ०६:४६