काठमाडौं, १४ भदौ- सत्तारूढ कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच संविधान संशोधनसम्बन्धी बुँदा टुंगो लगाउने विषयमा अहिलेसम्म औपचारिक छलफल सुरु हुन सकेको छैन । शीर्ष नेताहरूको तहमा अनौपचारिक छलफल भए पनि संशोधन अगाडि बढाउन कार्यदल गठन गर्ने कि नगर्ने भन्नेमा सत्तापक्ष र मोर्चाले कुनै तयारी नै गरेका छैनन् ।
कांग्रेस–माओवादीसँग मोर्चाले गत १९ साउनमा संविधान संशोधन गर्नेलगायतका तीन बँुदामा सहमति गरेको थियो । सरकार बनेको २६ दिनमा औपचारिक रूपमा छलफल अगाडि नबढे पनि अनौपचारिक, तर सकारात्मक छलफल भइरहेको सद्भावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । ‘अहिलेसम्म सकारात्मक छलफल भइरहेको छ, त्यसैबारेमा प्रधानमन्त्री प्रचण्डसँग पनि छलफल भएको हो,’ महतोले नयाँ पत्रिकासँग भने ।
मधेसी माग सम्बोधन गर्न के हुँदै छ ?
सरकार–मोर्चा नेताबीच कहिले कहाँ छलफल भयो ?
१० भदौमा प्रधानमन्त्री प्रचण्डसहित तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता तथा गृहमन्त्री विमेन्द्र निधिबीच छलफल भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जानुअघि भएको छलफलमा संविधान संशोधन, आन्दोलनका घाइतेको उपचार खर्च र सहिद घोषणा गर्न बाँकी रहेकाहरूको सन्दर्भमा छलफल भएको थियो । त्यसैगरी, १२ भदौमा प्रधानमन्त्री प्रचण्ड र सद्भावना अध्यक्ष राजेन्द्र महतोबीच छलफल भएको थियो । १२ गते नै गृहमन्त्री निधि र मधेसी मोर्चाको कार्यदलबीच घाइतेको उपचार खर्च, आन्दोलनकारीको मुद्दा फिर्ता र सहिद घोषणालगायतका मुद्दामा छलफल भएको थियो । १३ गते गृहमन्त्री निधिले मुद्दा फिर्ताबारे महान्यायाधिवक्तासहितको टोलीसँग छलफल गरेका थिए ।
प्रचण्ड भारत जानुअघि संशोधन विधेयक दर्ता
प्रधानमन्त्री प्रचण्ड ३० भदौबाट सुरु हुने आफ्नो भारत भ्रमणअघि नै संविधान संशोधन विधेयक संसद्मा दर्ता गराउने पक्षमा छन् । मोर्चाका नेताहरू ठाकुर, यादव र महतोसँगको छलफलमा पनि उनले त्यही बताएका छन् । संविधानका कतिवटा धारामा के–के संशोधन गर्ने भन्नेबारे भने अहिलेसम्म छलफल भएको छैन । मोर्चाले संविधानका ५२ धारामा संशोधन गर्नुपर्ने बताउँदै आएको छ । ‘नागरिकता, समानुपातिक समावेशी, संघीयता, भाषा, राष्ट्रिय सभाको बनोट, न्यायप्रणालीलगायतका ५२ धारामा संशोधन गर्नुपर्नेछ,’ सद्भावना महासचिव मनीष सुमनले नयाँ पत्रिकासँग भने ।
प्रकाशित मिति: १४ भाद्र २०७३, मंगलवार ०६:४३