काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति नेपालको पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घ, स्थलगत सहयोग विभागका उपमहासचिव अतुल खेरसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घले पु¥याएको सहयोगी भूमिकाका लागि धन्यवाद दिँदै नेपाल त्यसको हिस्सेदार रहेको बताए ।
नेपाली शान्ति सेनाले विश्वका कठिन ठाउँमा शान्ति स्थापनाका लागि पु¥याएको योगदानलाई मूल्याङ्कन गर्दै शान्ति सेनाको सङ्ख्या र शान्ति स्थापनासम्बन्धी भूमिकामा नेपालको प्रतिनिधित्व बढाउने नेपालको सोच रहेको बताए ।
प्रधानमन्त्रीसँगको भेटमा उपमहासचिव अतुल खेरले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीले पु¥याएको योगदानको प्रशंसा गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने कार्यमा थप शान्ति सेना पठाई योगदान दिने नेपालको इच्छाका लागि सराहना व्यक्त गरे । साथै नेपालको बाँकी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने नेपालको प्रयासमा संयुक्त राष्ट्र सङ्घले पनि सहयोग गर्ने इच्छा प्रकट गरेका थिए ।
यसैबीच प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलिएन्डबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा जुलिएन्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिए। भेटमा जुलिएन्डले समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राखेका थिए ।
जवाफमा प्रधानमन्त्रीले बधाई दिएकामा हार्दिक धन्यवाद दिँदै नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगको प्रशंसा गरे । प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पुनःनिर्माण र नवनिर्माण, सुशासन र राहत, ठूला आयोजनाको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको बताए ।
यसैगरी संयुक्त राष्ट्र सङ्घ, स्थलगत सहयोग विभागका उपमहासचिव अतुल खेरले आजै रक्षामन्त्री बालकृष्ण खाँडसँग उनकै कार्यकक्ष सिंहदरबारमा भेट गरे ।
भेटका अवसरमा मन्त्री खाँडले अन्तर्राष्ट्रिय शान्ति सेनामा नेपाली सेनाको सहभागिता हालको स्तरबाट बढाई दोब्बर गर्न सकिने नीति नेपाल सरकारको रहेको उपमहासचिव खेरलाई जानकारी गराएका थिए ।
उपमहासचिव खेरले नेपालले शान्ति सेनामा सहभागिता जनाई गरेको योगदान संयुक्त राष्ट्र सङ्घ एवम् विश्व समुदायले कदर गरेको बताए । रासस