रत्ननगर (चितवन), १३ भदौ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा रु. एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ ।
“सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ, पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भन्नुभयो – स्थान छनोट भएपछि काम सुरु हुन्छ ।”
पर्यटक विभागमार्फत बजेट परिचालन हुने गरी केन्द्र निर्माणको प्रक्रिया थालिएको उहाँले जानकारी दिनुभयो । चितवनमा पर्यटन सूचना केन्द्रको अभावले आएका पर्यटक उचित सूचना नपाउँदा प्रभावित हुँदै आएका छन् ।
सूचना केन्द्रका लागि सौराहा बसपार्क क्षेत्र र राप्ती किनारको निकुञ्ज छेउको क्षेत्र छनोट भएको छ । दुई स्थानमध्ये कुन ठाउँमा निर्माण गर्ने भन्ने टुङ्गो नलागेकाले फिल्डको काम तत्काल सुरु गर्न सकिएको छैन ।
क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनालले पर्यटन प्रहरीको निगरानी रहने गरी सुविधायुक्त सूचना केन्द्र निर्माण गरिने बताउनुभयो ।
उहाँले पर्यटकका लागि चाहिने जानकारी, वन र वन्यजन्तुका गतिविधि, आनिबानी, नेपालका पर्यटकीय क्षेत्र र चितवनको पर्यटकीय गन्तव्य, भौगोलिक अवस्था तथा सांस्कृति पहिचान सबै कुरा सूचना केन्द्रमा राखिने छ भन्नुभयो ।
पर्यटक आएपछि कसैलाई सोधिरहनु नपर्ने गरी केन्द्र निर्माण गरिने उहाँको भनाइ छ । पर्यटन विभागबाट यसवर्ष सूचना केन्द्रसहित बसपार्क स्तरोन्नति, सोलार बत्ती तथा अन्य विभिन्न विकासका काममा सहयोग भएको पर्यटन व्यवसायी जीतु तामाङले जानकारी दिनुभयो । गुरुयोजना निर्माणका लागिसमेत बजेट माग भएको क्षेत्रीय होटल सङ्घले जनाएको छ ।
सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा र नयाँ पर्यटकीय गन्तव्यमा पर्यटकलाई नलैजाँदा बसाइ लम्ब्याउन सकिएको छैन । रासस