भैरहवा, १२ भदौ । नेपाल कृषि प्रधान मुलुक भए तापनि कृषिमा आत्मनिर्भर बन्न नसकेकोले अब बैंकहरुले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यक्ता रहेको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले बताएका छन् ।
रुपन्देहीको सदरमुकाम भैरहवामा एनएमबी बैंकको ७१ औं शाखाको उद्घाटन समारोहमा बोल्दै नेपालले यस्तो बताएका हुन् । ‘हामी सानो सानो चिजमा पनि भारतको भर पर्ने गर्दछौं । अब किसानहरुले व्यवसायीक रुपमा नै पशुपालन तथा कृषि व्यवसाय गर्न बैंक तथा वित्तिय संस्थाको सहयोगमा ऋण लिएर व्यवसाय गर्नु पर्छ ।’ उनले भने ‘बैंकले पनि किसानलाई सहुलियत ऋणमा सेवा प्रदान गर्नु पर्दछ ।’
त्यस्तै बैकका कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बोल्दै भैरहवा क्षेत्र विकाशको सम्भावना बोकेको क्षेत्र भएको बताउँदै आफुहरु यस क्षेत्रका सम्पुर्ण व्यक्तित्वहरुसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए ।
एन एमबी बैंक भैरहवामा ल्याइको २५ औँ वाणिज्य वैंक हो । जसका देशभरी ७१ ओटा शाखा, ५० ओटा एटियम सेन्टर र ७ ओटा एक्सटेन्सन काउन्टर रहेको बताइएको छ । हिँजो कै दिन वैंकले पाल्पा, भैरहवा र दमक गरी ३ ओटा शाखाको उद्घाटन गरेको थियो । रुपन्देही जिल्लामा वाणिज्य वैंक मात्र ७६ ओटा रहेका छन् । यो संख्या काठमाण्डौ र पोखरापछिको भएको वक्ताहरुले बताए ।
जिल्लामा सम्पूर्ण बैंकहरुको संख्या २ सय ३० रहेको छ । उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष रोमणी प्रसाद पाठक, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल, रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा लगायतले बोलेका थिए ।
प्रकाशित मिति: १२ भाद्र २०७३, आईतवार १७:५८