जाजरकोट, १२ भदौ । पश्चिम जाजरकोटका थालारैकर र सीमा गाविसमा किरा लागेर धान वाली नष्ट गरेको छ । धानका पातहरु किराले खाएर वाली नष्ट गरेको हो । वाली नष्ट भएपछि किसानहरु चिन्तित भएका छन् ।
थालारैकर गाविसको वडा ४ सल्लेरी टोलको सीमाखेत र सीमा गाविसको ३ ताङ्गामा हरिया खालको सानो घोगे किराले पातहरु खाएर धानवाली नष्ट गरेको स्थानीय किसानले बताएका छन् ।
थालारैकर ४ का किसान नरबहादुर बुढाले पसाउन अवस्थामा रहेका धानका पात किराले खाएर सखाप पार्न थालेको बताए । केही समय भित्र किरा मार्न नसके सवै धान सखाप हुने भएकोले जिल्ला कृषि विकास कार्यालयलाई जानकारी गराएको उनले बताए । सदरमुकाम खलंगाबाट हिडेर एक दिनमा पुग्न सकिने उक्त स्थानमा कार्यालयबाट प्राविधिक टोली नआएको किसानको गुनासो छ ।
क्याटर पिल्लर समुह भित्र पर्ने लोपोफोरा केम्पका जातको किराले खेतको धान, पाखे धान र कोदो वाली नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत तिलकराम वलीले वताए ।
थालारैकर गाविसमा ६५ र सीमा गाविसमा झण्डै ३० रोपनी बराबरको जग्गामा खेती गरिएको वाली नष्ट गरेको अधिकृत वली वताए । स्थानीय भाषामा घोगे किराका नामले चिनिने उक्त किरावाट किसानहरुको वाली जोगाउनलाई जिल्ला कृषि विकास कार्यालयवाट विषादी औषधी वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।
किराले पातहरु खाएपछि थालारैकर गाविसमा किसानको खेतीमा ३० प्रतिशत र सीमा गाविसमा २० प्रतिशत जति क्षति भएको छ । धान तथा कोदो वालीमा देखा परेको किरा यो भन्दा अगाडि देखा नपरेको वाली संरक्षण अधिकृत तिलकराम वलीको भनाई छ । किरावाट बालीको थप क्षति हुन नदिन प्रभावित क्षेत्रमा विसादी सहित प्राविधिक टोली तत्काल पठाइने निमित्त कृषि विकास अधिकृत मुकेश रामजाली नेपालीले बताए ।
प्रकाशित मिति: १२ भाद्र २०७३, आईतवार १७:१७