गोरखा, १२ भदौ । घर बनाउन अनुदान वितरण गरिएका देशका १२ जिल्लामध्ये गोरखाका धेरै भूकम्पपीडितले छिटो अनुदान रकम पाएका छन् । अन्ठाउन्न हजार ५०३ जना लाभग्राहीमध्ये आजसम्म ३९ हजार ६४७ जना भूकम्पपीडितले रु ५० हजारका दरले पहिलो किस्ताबापतको रकम पाइसकेका छन् ।
गोरखाका ४९ हजार ७५८ जना लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भएपनि लाप्राकी र बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले अनुदान सम्झौता गर्न पाएका छैनन् । लाप्राकमा एनआरएनएले भूकम्पप्रतिरोधी बस्ती बनाउने अभियान सुरु गरेको हो भने बूढीगण्डकी क्षेत्र आसपासका भूकम्पपीडितले जग्गा रोक्का गरिएकाले लालपूर्जा राखेर अनुदान सम्झौता गर्न नपाएका हुन् ।
गोरखामा अहिलेसम्म १५ हजार ६३५ जनाले अनुदान माग्दै गुनासो दर्ता गराएका जिल्ला विकास समितिका योजना अधिकृत शशी भट्टराईले जानकारी दिए । भूकम्पले अति क्षति पुर्याएका १२ जिल्लामध्ये गोरखामा छिटो अनुदान वितरण गरिएको भट्टराईको भनाइ छ । भूकम्पपीडितलाई अनुदान दिने जिम्मा जिल्लाका विभिन्न बैंकलाई दिइएको छ ।
सिन्धुपाल्चोकका ७८ हजार ५३७ लाभग्राहीमध्ये ६४ हजार आठसय ४२ जनाले अनुदान सम्झौता गरिसकेका छन् । एघार हजार ९४१ लाभग्राहीले अनुदान रकम बुझिसकेका छन् भने १२ हजार सातसय ८२ जनाले अनुदान माग्दै गुनासो दर्ता गरेका छन् ।
रामेछापका ४३ हजार ६०७ लाभग्राहीमध्ये ४० हजार सातसय ७८ जनाले अनुदान सम्झौता गर्दा १५ हजार ९०७ जनाले पहिलो किस्ताबापतको रकम बुझिसकेका छन् । तथ्याङ्क सङ्कलन गर्दा आफूहरु छुटेको भन्दै रामेछापका १३ हजार ३०५ जनाले गुनासो दर्ता गरिसकेका छन् ।
धादिङका ७० हजार पाँचसय ७२ लाभग्राहीमध्ये ४७ हजार सातसय ९९ जनाले अनुदान सम्झौता गरेका छन् भने १५ हजार चारसय ४१ जनाले पहिलो किस्ताको रकम पाइसकेका छन् । धादिङका १३ हजार आठसय ३५ जनाले गुनासो गरेका छन् ।
नुवाकोटका ६५ हजार सातसय ७२ जना लाभग्राहीमध्ये ४७ हजार आठसय १० जनाले अनुदान सम्झौता गरेकामा आठ हजार चारसय ५१ जनाले पहिलो किस्ताको रकम बुझिसकेको थाहाभएको छ ।
यस्तै, नुवाकोटका नौ हजार ५०५ जनाले गुनासो गरेका छन् । दोलखाका ५१ हजार सातसय ४९ लाभग्राहीमध्ये ३९ हजार ६४२ जनासँग अनुदान सम्झौता भई १७ हजार ९६१ लाभग्राहीले ५० हजारका दरले अनुदान रकम बुझेका छन् । दोलखाका १९ हजार तीनसय ६१ जनाले अनुदान पाउनुपर्ने भन्दै गुनासो गरेका छन् ।
ओखलढुङ्गाका १९ हजार आठसय १८ लाभग्राहीमध्ये १७ हजार ६४९ जनासँग अनुदान सम्झौता भइसकेको छ भने तीन हजार एकसय ६२ जनाले पहिलो किस्ताको रकम लिइसकेका छन् । यहाँका पाँच हजार ६५१ जनाले गुनासो गरेका छन् ।
काभ्रेपलाञ्चोकका ६७ हजार ६५९ लाभग्राहीमध्ये ४६ हजार एकसय ९० जनासँग अनुदान सम्झौता भएको छ भने १२ हजार २०५ जनाले अनुदान रकम पाइसकेका छन् । एक्काइस हजार एकसय ४ जनाले गुनासो दर्ता गरेका छन् ।
सिन्धुलीका ३४ हजार २५३ लाभग्राहीमध्ये अहिलेसम्म १४ हजार ६५५ जनासँग अनुदान सम्झौता सम्पन्न भएको छ । सात हजार ५३ जनाले अनुदान रकम पाए भने छुटेका १८ हजार ७०३ जनाले गुनासो गरेका छन् ।
रसुवाका ११ हजार दुईसय २९ लाभग्राहीमध्ये ६ हजार १०२ जनासँग सम्झौता गर्दै एक हजार एकसय ६३ जनालाई पहिलो किस्ताको रकम बुझाइएको छ । यहाँ एक हजार दुईसय ६३ जनाले गुनासो दर्ता गरिसकेका छन् ।
मकवानपुरको ३० हजार दुईसय ३८ लाभग्राहीमध्ये आठ हजार ३५ जनाले अनुदान सम्झौता गर्दा एक हजार एकसय ६३ जनाले पहिलो किस्तामा ५० हजारका दरले रकम लिइसकेका छन् जहाँ २५ हजार ६०७ जनाले गुनासो गरेका छन् ।
ललितपुरमा एक हजार दुईसय १८ लाभग्राही छन् भने चारवटा घरसँग मात्रै अनुदान सम्झौता गरिएको छ । अनुदान वितरण सुरु नभए पनि ६०२ जनाले गुनासो दर्ता गरिसकेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवत्ता पूर्णचन्द्र भट्टराईको हस्ताक्षरसहित जारी गरिएको प्रेस विज्ञप्तिमा भदौ १० सम्म रु तीन लाख ८३ हजार २६४ घरधुरीसँग अनुदान सम्झौता भएको उल्लेख छ ।
यस्तै, एक लाख ५७ हजार दुईसय ५२ वटा गुनासो दर्ता भएको देखिन्छ । बार्ह जिल्लामा गरी एक लाख ३३ हजार सातसय ६९ जनालाई रु ५० हजारका दरले अनुदान रकम वितरण गरिसकिएको भट्टराई ले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । रासस