काठमाडौं । नवनियुक्त मन्त्री गगन थापा जो नेपाली राजनीतिमा सर्वाधिक चर्चामा छन् । जुझारु स्वभावका उनले नयाँ काम गरेर छुट्टै पहिचान बनाउने गर्दछन् । नेविसंघका महामन्त्री रहँदा राजातन्त्र विरुद्ध नारा लगाएर चर्चामा पाए उनै गगन थापा अहिले आम जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।
मन्त्री थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन वैदेशिक रोजगारीमा रहेका नेपाली युवासँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गरे भने दोस्रो दिन आम नागरिक सरह स्वास्थ्य परिक्षणमा सहभागि भए । कुनै पनि नयाँ कामको गर्ने यो उनको शैली हो ।
प्रखर वक्ताका रुपमा चिनिने नेपाली काँग्रेसका नेता गगन थापा ३० बर्षे पञ्चायत विरुद्ध २०४६ सालमा भएको आन्दोलनमा स्कुले विद्यार्थीकै हैसियतमा आन्दोलनमा निस्किएयता राजनीतिमा झुकाव राख्दै आएका थिए। विद्यालय पढ्दैदेखि नेपाली काँग्रेसको भतृसंस्था नेविसंघमा आवद्ध थापा उच्च शिक्षा अध्ययनका क्रममा क्याम्पसमा पढ्दा पनि नेविसंघको राजनीतिमा रहे ।
पिता महेन्द्रकुमार थापा र माता रामेश्वरी थापाका माहिला छोराका रुपमा थापाको जन्म २०३३ साल साउन ४ मा काठमाडौंको प्रसूति गृहमा भएको थियो। गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो।
पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। पिता महेन्द्र इन्जिनियर भएका कारण पनि उनली छोरालाई डाक्टर इन्जिनियर जस्ता प्राविधिक विषय पढाउन चाहन्थे। परिवारको इच्छा अनुसार गगन पनि क्याम्पस पढ्न जाँदा शुरुमा डाक्टर इन्जिनियर बन्ने सोच राखेर नै गएका थिए। तर अध्ययनका क्रममा उनले आफ्नो रुची अन्तै पाए।
इन्जिनिरयरिङ अध्ययनको पढाइ छोडेर उनले त्रिचन्द्र क्याम्पसमा साइन्स पढे। त्रिचन्द्रबाट विएस्सी गरेपछि उनले त्रिविबाट मानवशास्त्र समाजशास्त्र विषयमा स्नातकोत्तर गरे। २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थापा त्यसपछि २०५३मा त्रिचन्द्र स्ववियुमा सचिव भए ।
२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो। नेविसंघको चितवनमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्ष भएका थापाले बिरगञ्जमा सम्पन्न महाधिवेशनबाट महामन्त्री बने। उनले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका छन्। यहि बेलामा उनले जनआन्दोलनका नायकका रुपमा सडकमा नेतृत्व गर्दा पटकपटक घाइते र प्रहरी नियन्त्रणमा परे। २०५९ सालमा राजाले जननिर्वाचित सरकार अपदस्थ गरेपछि त्यसको विरोधमा भएको आन्दोलनका क्रममा तत्कालीन सरकारले थापा सहित गुरु घिमिरे र पुरुषोत्तम पौडेललाई नियन्त्रणमा लिएर राजकाज मुद्दा लगाएको थियो। यसअघि भने उनी एमालेको अल्पमतको सरकार छँदा २०५१ सालमा नेविसंघले आह्वान गरेको नेपाल बन्दका क्रममा हिरासत पुगेका थिए।
शाही शासनको बेलामा अर्धभूमिगत शैलीमा काठमाडौंमा रहेर आन्दोलनमा सक्रिय रहेकै बेलामा थापालाई प्रहरीले लैनचौरको विद्यार्थी नेता सन्देश अधिकारीको घरबाट विद्यार्थी नेताहरु सुवोध आचर्य सहितलाई नियन्त्रणमा लिएको थियो।
सरकारले गगनलाई राजद्रोहको मुद्दा लगाएको थियो। अन्तराष्ट्रिय मानवअधिकारीवादी संस्था एम्नेष्टी इन्टरनेशनलले थापालाई सो समयमा आस्थाको वन्दी घोषणा गरेको थियो। नेपाली काँग्रेस संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहँदा थापा सडकमा गणतन्त्रको नारा लगाउने मात्र होइन त्यस्तो समुहको नेतृत्व गरे ।
लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसा भयो। आफूलाई उचित लागेको विषयमा प्रखर रूपमा आवाज उठाउने थापा चुनौति मोल्न सक्ने नेताका रुपमा परिचित छन्।
पहिलो संविधानसभाबाट समानुपातिक सभासद बनेका थापा दोस्रो सविधान सभामा भने काठमाडौं क्षेत्र नम्वर ४ बाट आफ्ना निकटतम प्रतिष्पर्धीहरुभन्दा दोव्वर भन्दा वढी मत ल्याएर निर्वाचित भए। उनीसँगै पराजित नन्दकिशोर पुन पासाङ अहिले उपराष्ट्रपति भएका छन्। सभासद निर्वाचित भएपछि उनलाई पार्टीले कृषि तथा जलस्रोत समितिको सभापतिको भुमिका दिएको थियो। उनले सो समितिको नेतृत्व गरिरहँदा संसदीय अभ्यासमा केहि नविनतम काम गर्ने प्रुयास गरेका छन्। नीतिगत रुपमा वहश हुने ठाउको रुपमा समितिलाई उनले लैजाने प्रयास गरेका छन्।
समितिमा वोलाएर निर्देशन दिने परम्परागत शैलीमा पनि परिवर्तन गर्दै समिति मातहतका मन्त्रालयहरुलाई प्रगति विवरण सहित प्रत्येक महिना समितिमा पेश गरि मन्त्रालयहरुलाई संसदप्रति जवाफदेहि बनाउने कामको नेतृत्व थापाले लिए।
नेपाली काँग्रेसका नेता गगन थापा आफ्ना अनुकरणीय कामहरुको कारण एक सभासद तथा सांसद तथा समिति सभापतिको रुपमा सदा चर्चाको शिखरमा रहे।
पछिल्लोपटक लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्छ भन्दै डा. गोविन्द केसीको माग पूरा गराउन उनकै नेतृत्वमा संसदमा संकल्प प्रस्ताव दर्ता भएको थियो । जुन प्रस्तावमाथि छलफल हुन बाँकी छ । यसबीचमा उनी संयोगबस स्वास्थ्यमन्त्री बनेका छन्, जुन मन्त्रालयले गोविन्द केसीका अधिकांश मागको सुनुवाइ गर्न सक्छ ।
गगनको अग्निपरीक्षा शायद यहीँबाट शुरु हुनेछ । गत महाधिवेशनमा कांग्रेसको तेस्रो धार बनाएर महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सम्मानजनक मत पाएर पराजित भए पनि त्यही बिन्दूबाट गगनको राजनीतिक उचाइ अझ बढेको छ, जसका कारण आज उनी स्वाभाविक मन्त्री बनेका छन् ।
परिवारिक रुपमा तथा अध्ययनका क्रममा डाक्टर र इन्जिनियर बन्न प्रेरित भएपनि राजनीतिमा लागेर देशकै समग्र स्वास्थ्यको चिन्ता गर्ने र उपचार गर्न आँट गर्ने थापाले नेपालको स्वास्थ्य नीतिका बारेमा लामो समयदेखि विमर्श र चिन्तन गर्दै आएका छन् । डाक्टरहरु कै मन्त्री भएपछि देशको स्वास्थ्य सुधार्ने जिम्मा उनकै काँधमा आएको छ । याे जिम्उमेवारी उनका लागि अवसर र चुनौति दुवै हाे । यस परिमाणले पनि भविश्यकाे राजनीतिक यात्रा तय गर्ने छ ।
प्रकाशित मिति: १२ भाद्र २०७३, आईतवार ०९:३२