काठमाडौ १२ भदौ – आर्थिक वर्ष (आव) २०७२/७३ मा सेवा निर्यातबाट नेपाललाई प्राप्त हुने खुद आय ६४ दशमलव ३ प्रतिशतले घटेको छ । सो अवधिमा सेवा निर्यातबाट प्राप्त कुल आय ७ दशमलव २ प्रतिशतले घटे पनि कुल सेवा खर्च ५ दशमलव ७ प्रतिशतले बढेकाले खुद सेवा आय उच्च दरले घटेको नेपाल राष्ट्र बैङ्कले प्रकाशित प्रतिवेदनमा बताइएको छ ।
गतवर्षको विनाशकारी भूकम्प तथा लामो राजनीतिक अस्थिरता र अघोषित नाकाबन्दीका कारण पर्यटनबाट प्राप्त हुने आय घट्दा खुद सेवा आयमा नकारात्मक असर परेको बताइएको छ । खुद सेवा आय घटे पनि समग्र शोधनान्तर बचत भने ४६ अर्बले बढेर रू. १ खर्ब ९१ अर्ब पुगेको छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।
आव २०७१/७२ मा १९ दशमलव ४ प्रतिशतले बढेर रू. २७ अर्ब ६१ करोड पुगेको खुद सेवा आय गत आवमा भने आधाभन्दा धेरैले घटेर ९ अर्ब ८४ करोडमा सीमित भएको राष्ट्र बैङ्क प्रकाशित गरेको गत आवको समग्र आर्थिक तथा मौद्रिक स्थितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार भुक्तानी सन्तुलन विवरणको सेवा खाताअन्तर्गत पर्ने पर्यटन आय गतवर्ष २१ दशमलव ८ प्रतिशतले घटेको छ ।
विदेशीहरूबाट नेपालले पाउने यस्तो आय घटे पनि नेपालीहरूले विदेशमा पर्यटन गर्दा हुने खर्च भने ६ दशमलव १ प्रतिशतले बढेको छ । फलस्वरूप, खुद आय वृद्धि उच्चदरमा ऋणात्मक बनेको हो ।
अघिल्लो वर्ष १५ दशमलव २ प्रतिशतले बढेको पर्यटन आय गतवर्ष २१ दशमलव ८ प्रतिशतले घटेको छ । तर, पर्यटन खर्च भने ६ दशमलव १ प्रतिशत बढेको विवरणमा उल्लेख छ । साथै अघिल्लो वर्ष १२ दशमलव ९ प्रतिशतले बढेको वैदेशिक शिक्षातर्फको खर्च गतवर्ष १८ प्रतिशतले बढेको छ । यसरी देश भित्रिने सेवा आयभन्दा बाहिरिने खर्च वृद्धिका कारण समग्र सेवा खाता बचत उल्लेख्य मात्रामा घटेको राष्ट्र बैङ्क स्रोतको भनाइ छ ।
खुद सेवा आय घट्नुको अर्को कारण विप्रेषण आय वृद्धिदर घट्नु पनि हो । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गतवर्ष नेपाललाई प्राप्त हुने विप्रेषण आयको वृद्धिदर अघिल्लो वर्षको तुलनामा झण्डै आधा भएको छ । गतवर्ष विप्रेषण आप्रवाह ७ दशमलव ७७ प्रतिशत बढेको छ । अघिल्लो वर्षमा यो १३ दशमलव ६ प्रतिशत बढेको थियो ।
यद्यपि कुल गार्हस्थ्य उत्पादनसँग विप्रेषण आप्रवाहको अनुपात भने अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ५ प्रतिशतले बढेर २९ दशमलव ६ प्रतिशत पुगेको छ ।
गतवर्ष कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १ प्रतिशतभन्दा तल पुगेकाले विप्रेषणको अनुपातमा वृद्धि भएको हो । विप्रेषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या पनि थप भने घटेको राष्ट्र बैङ्कको तथ्याङ्कले पुष्टि गरेको छ । गतवर्ष रोजगारीका लागि विदेश जाने नेपालीको सङ्ख्या १८ दशमलव ३४ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख गरिएको छ । अघिल्लो वर्ष यो सङ्ख्या २ दशमलव ८ प्रतिशतले घटेको थियो । नेपाली कामदार जाने गन्तव्य मुलुक पनि फेरेको राष्ट्र बैङ्कले देखाएको छ । गतवर्ष रोजगारीका लागि विदेश जानेमध्ये साउदी अरब, कतार, मलेशिया, संयुक्त अरब इमिरेट्स जानेको सङ्ख्या क्रमशः ३३ दशमलव १ प्रतिशत, ३० दशमलव ८, १४ दशमलव ६ र १२ दशमलव ६ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षमा भने मलेशिया, कतार र साउदी अरब क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका थिए ।
प्रकाशित मिति: १२ भाद्र २०७३, आईतवार ०७:०१