काठमाडौँ, ११ भदौ । पाँचौँ एसियाली गोजुरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडीलाई बानियाँटारस्थित प्यारामाउन्ट एकेडेमीले आज सम्मान गरेको छ ।
प्यारामाउन्ट एकेडेमीमा आज आयोजित कार्यक्रममा उनीहरुलाई सहरीविकास मन्त्री अर्जुननरसिंह केसी र सांसद एवम् प्यारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसीले सम्मान गरे ।
यही साउन २७ देखि ३० गतेसम्म मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा नेपालले ५ स्वर्ण र ९ कास्यपदक जितेको थियो । तीमध्ये भेट्रान्स एकल कातातर्फ विशनसिंह खड्का, ६१ केजीमाथि सोनु थापा तथा टिम कुमुतेमा सागर न्यौपाने, सागर भेटवाल र राजन भोलुन तामाङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
त्यस्तै, भेट्रान्स एकल कातामा पेम्बा तामाङ, टिम कुमुतेमा सुमन तिमल्सिना, प्रकाश गुरुङ र सुरज तामाङ, १०–११ वर्षको कुमुतेमा नेत्रकुमार थापा र मोहित परियार तथा ८४ केजीमाथि र एकल कातामा अनिश ठाकुरले कास्य जितेका थिए । स्वर्ण विजेता सोनुले टिम कुमुतेमा पनि थप एक कास्य हात पारे ।
सोही कार्यक्रममा एसियाली गोजुरियो कराते महासङ्घको महासचिवमा निर्वाचित बिआर मित्र र कोषाध्यक्षमा निर्वाचित सीताराम कँडेल पनि सम्मानित भए । त्यसैगरी एसियाली गोजुरियो कराते महासङ्घ (एजिकेएफ)को रेफ्रीमा उत्तीर्ण सिपी घर्तीमगर तथा निर्णायक (जज)मा उत्तीर्ण हुन सफल सानुबाबु गिरी र सुमन तिमिल्सिनासमेतलाई सम्मान गरिएको थियो । अफिसियल प्रमोद पाण्डे र सङ्गम रिजाल पनि सम्मानित भएका थिए ।
पारा रियो टोलीको बिदाइ
ब्राजिलको रियोमा हुने पारा–ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई ह्याप्पी साइन्स नेपालले आज बिदाइ गरेको छ ।
सेप्टेम्बर ७ देखि १८ तारिखसम्म हुने पारा–ओलम्पिकमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एथलेटिक्सतर्फ लन्डन ओलम्पिकमा समेत सहभागिता जनाएका विक्रमबहादुर रानाले टि–११ क्याटागोरीअन्तर्गत १०० मिटर दौडमा भाग लिनेछन् ।
पौडीतर्फ एस–६ क्याटागोरीमा लक्ष्मी कुँवरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । सेफ दि मिसनमा ओमनाथ शिवाकोटी तथा पौडी अफिसियलमा नेपाल पारा पौडी सङ्घका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् ।
टोलीलाई ह्याप्पी साइन्स नेपालका अध्यक्ष दिनेशमान जोशीलगायतले ट्रयाकसुट प्रदान गरी बिदाइ गरे । टोली अगस्ट ३१ मा रियो प्रस्थान गर्दैछ । रासस