काठमाडौँ, ११ भदौ । सभामुख ओनसरी घर्तीले राजनीतिक दलबीच सहमति कायम गरी आदिवासी जनजातिलगायतले उठाएका मुद्दालाई संविधान संशोधन गरेर सम्बोधन गर्न सकिने बताएकी छिन् ।
नेपाल आदिवासी जनजाति महासङ्घलगायत आदिवासी जनजाति समुदायबाट स्थापित सङ्घसंस्थाद्वारा यहाँ आज आयोजित “संविधानमा आदिवासी जनजातिको सवाल” विषयक अन्तक्र्रियामा सभामुख घर्तीले आदिवासी जनजातिबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि संविधानमा टेकेर अगाडि बढ्न सकिने प्रष्ट पारिन् ।
प्राप्त उपलब्धि कार्यान्वयन नहुँदा थप अधिकारप्राप्तिका लागि कठिनाइ हुने भएकाले कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गरिन् । संविधानप्रति असन्तुष्टि जनाउने समुदायले राखेका मागको सम्बधमा व्यवस्थापिका–संसद्ले सहयोगी भूमिका निर्वाह गर्ने सभामुख घर्तीको भनाइ थियो ।
त्यसैगरी, आदिवासी जनजाति समुदायका सांसद ध्यानगोविन्द रञ्जीत, गोपाल दहीत, पर्शुराम तामाङ र योगेन्द्र चौधरीलगायतले संविधान संशोधनमार्फत आदिवासी जनजातिको अधिकार समावेश गर्नका लागि सहयोग गर्न मुख्य राजनीतिक दलसँग अपिल गरे ।
सांसद तथा आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले संविधान संशोधनको सन्दर्भ चलिरहेको अवस्थामा सहयोगका लागि सबै सांसदसँग आग्रह गरे । रासस