धनगढी, ११ भदौ । धनगढीसँग सीमा जोडिएको कञ्चनपुरको रैकवार बिचवा गाविसमा केही दिनदेखि जङ्गली हात्तीको उपद्रोले धानबालीमा ठूलो क्षति पुर्याएको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र रैकवार विचवा र शङ्करपुर गाविसमा रातिको समयमा आउने जङ्गली हात्तीले झन्डै दश बिगाहा क्षेत्रमा गरिएको धानबाली नष्ट गरेको स्थानीय शङ्करी रानाले बताए ।
सीमावर्ती भारतको दूधवा राष्ट्रिय निकुञ्जबाट कञ्चनपुरको लालझाडी जङ्गल क्षेत्र हुँदै सो क्षेत्रमा पस्ने गरेका १४,१५ वटा हात्तीको झुन्डले मच्चाउने आतङ्कले स्थानीयवासी त्रसित बनेका छन् ।
हात्तीले रैकवार विचवाको वडा नं– ७, शङ्करपुरको वडा नं– १ र ६ मा पसाउन लागेको धानबालीमा बढी क्षति पु¥याएको छ । पसाउन लागेको धानबाली नष्ट गरेपछि दसैँको मुखमा के खाने भन्ने चिन्ता लागेको दुखेसो रानाले गरे ।
रातभर गाउँ पस्न थालेपछि त्रासका कारण आफूहरु रातभर नसुतेरै जाग्राम बस्नुपरेको स्थानीयवासीको गुनासो छ ।
हात्ती आतङ्क रोक्न स्थानीयवासी प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि नियन्त्रणका लागि पहल नभएको स्थानीयवासीको गुनासो छ ।
हरेक वर्षको साउनदेखि असोजसम्म कैलाली, कञ्चनपुरका जिल्लामा जङ्गली हात्तीले उपद्रो मच्चाउने गरेको छ ।
हात्तीको आतङ्क रोक्न स्थानीयवासीलाई भेला गराएर युवादस्ता गठन गर्ने तयारी गरिएको मोहना लालझाडी सामुदायिक वनका अध्यक्ष राजबहादुर ऐरले बताए । रासस