जाजरकोट, ११ भदौ । जाजरकोट—डोल्पा सडकको मन्मई—तल्लुबगर सडक खण्डमा यातायात सेवा बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । रुटपरमिट नभएको भन्दै स्थानीय प्रशासनले यातायात सञ्चालनमा रोक लगाएपछि पाँच दिन देखि त्यस सडक खण्डमा यातायात सेवा बन्द हुँदा यात्रु मर्कामा परेका हुन् ।
गाडी नचल्दा बृद्धबृद्धा, महिला, बालबालिका र विरामीलाई निकै सास्ती भएको रग्दा ४ चौखाका किशोर मल्लले गुनासो गरे । गाडी भाडा महँगै भएपनि हामीलाई निकै सहज भएको थियो तर सरकारले यातायात सञ्चालनमा रोक लगाउन गरेको निर्णयले निकै मर्कामा परेका छौ, मल्लले भने ।
त्यस्तै यातायात बन्दले डोल्पावासीलाई पनि निकै सास्ती भएको छ । यातायात सेवा बन्द भएपछि खाद्यन्न लगायतका मालसामान ढुवानी र यात्रा गर्न निकै गाह्रो भएको डोल्पा ल्हाँका नरबहादुर नेपालीले गुनासो गरे ।
जाजरकोट —डोल्पा सडक अन्र्तगत जाजरकोट, रुकुम र डोल्पा खण्डमा सञ्चालनमा आएको जीप सेवाले डोल्पालीहरुको कष्टपूर्ण पैदल यात्रालाई सहज बनाएको थियो । तर यातायात बन्दले जाजरकोटबासीलाई भन्दा डोल्पालीलाई सास्ती भएको नेपालीको भनाई छ ।
यो सडकको नेपाली सेनाले ट्याक खोले सँगै विगत ५ वर्ष देखि यातायात सेवा सञ्चालनमा रहेको थियो । स्थानीयले थाप्लोमा खाद्यान्न लगायतका उपभोग्य मालसमान बोक्नु पर्ने अवस्थाबाट मुक्ति पाएका थिए तर चाडवाड नजिकै आइरहेको बेला गरिएको यातायात बन्दले निकै समस्यामा पारेको रग्दा ४ की माया रावतले बताइन् ।
नेपाली सेनाले निर्माण गरेको सो सडक खण्डमा भेरी गंगा व्यवसायी समिति, सिस्ने हिमाल व्यवसायी समिति र रुकुम प्रालिका १२ ओटा जीप र ५ ओटा ट्याक्टर सञ्चालनमा रहेका थिए ।
ती व्यवसायीले २२ किलोमीटर दुरीको उक्त खण्डमा ४ सय भाडा अशुल्दै आएका थिए । कुनै पनि निर्माण कम्पनीले सडक निर्माण कार्य पूर्ण रुपमा सकेर सडक विभागलाई बाटो हस्तान्तरण गरेपछि मात्र रुटपरमिट दिने व्यवस्था छ । तर अहिले सम्म नेपाली सेनाले काम सकेको छैन । रुटपरमीट नभएका सडकमा यातायात सञ्चालन गर्न नदिने सरकारी निर्णयलाई कार्यान्वयन गर्दै उक्त सडक खण्डमा यातायात सञ्चालन अनुमति रुटपरमिट नभएकोले यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जोखिमपूर्ण बाटोमा पनि १० जनाको क्षमता भएको जीपमा २०/२५ जना सम्म यात्रुलाई कोचेर लिने गरेको, रुट परमिट नभएको, भाडादर प्रति किलोमिटर २० रुपैयाँसम्म लिने गरिएको आदि कारणले गर्दा यातायात सञ्चालनमा रोक लगाउनु परेको निमित्त जिल्ला प्रहरी प्रमुख हिक्मत बोहराले बताए ।
विभागको अस्थायी अनुमति समेत नभएको उक्त कच्ची सडकमा व्यवसायीले ५ वर्ष देखि यातायातका साधन सञ्चालन गरेर मनपरी भाडा अशुल्दै आएका थिए । सरकारको निर्देशन र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार उक्त सडक खण्डमा यातायात सेवा बन्द गरिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।
प्रकाशित मिति: ११ भाद्र २०७३, शनिबार १५:०५