जेनेभा, ११ भदौ । सिरियामा जारी रहेको बिगत पाँचवर्ष पुरानो हिंसाको अन्त्यका लागि अमेरिकी र रुसी विदेशमन्त्रीबीच आपसी सहमति भएको समाचार छ ।
अमेरिकी विदेशमन्त्री जोन केरी र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच जेनेभाको समुद्री किनारमा रहेको एक डिलक्स होटलमा शुक्रबार भेटवार्ता भएको थियो ।
उहाँहरुबीच सिरियामा नयाँ युद्धविरामको सुरुवात गर्नुपर्ने विषयमा सहमति भएको थियो । सो सहमतिअनुसार सिरियामा युद्धविरामका लागि आवश्यक विषयमा आगामी केही दिनमा सहमतिको मार्ग खोजिने छ ।
अमेरिकी विदेशमन्त्री केरीले सो भेटवार्तापछि भने– आज म के भन्न सक्छु भने अब सिरियामा जारी हिंसालाई कम्तीमा पनि युद्धविराममा परिणत गर्न हामी सहमत भएका छौँ र यस छलफलबाट तय भएको बाटोबाट अघिबढ्न हामी अब सक्नेछौँ ।
उनले भने– कैयौं असहमतिहरुका विषयमा सहमति भएको छ र अझै पनि कैयौं विवादका विषय भएकोले आगामी केही दिनमा नै तिनको पनि समाधान खोजिने छ ।
रुसी विदेशमन्त्री लाभरोभले पनि सिरियाको हिंसा हन्त्यका लागि धेरै महत्वपूर्ण सहमतिको नजिक आफूहरु पुगेको धारणा सम्वाददाताहरुसँग राखे ।
सिरियामा यसअघि पनि सहमति निर्माणका लागि अमेरिका र रुसले ले संयुक्त प्रयास गरेका थिए । तर पनि त्यहाँ शान्ति स्थापनाको काम भने हुन सकिरहेको छैन ।
यसअघि पनि अमेरिका र रुसको सहमतिमा युद्धविराम भएको थियो । तर सो युद्धविरामपछि पनि शान्ति वार्ता हुन भने सकेको छैन ।
सिरियामा सन् २०११ देखि हिंसा मच्चिएको छ । हिंसामा परी दशौँहजार नागरिकको ज्यान गएको छ । तर यसअघिका पटक पटकका शान्तिवार्ताहरु सफल हुन सकिरहेका छैनन् ।
आईएसविरुद्धको कारबाहीमा १८ सर्वसाधारण मारिए
सिरियाको प्रान्तीय राजधानी राकामा इस्लामिक स्टेट्स समूहलाई लक्ष्यगरी शुक्रबार राति गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि १८ जना सर्वधारण मारिएका छन् ।
सिरियाली सैनिकले आईएसका विरुद्ध भन्दै स्थलगत तथा हवाई कारबाही गरिरहेको त्यहाँको द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीहरुले जनाएका छन् । पछिल्लो समयमा सिरियाली सेनाले कारबाहीलाई सशक्त बनाएको छ ।
सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्यान जाने गरेको बताइएको छ । शुक्रबारको कारबाहीमा परी १८ जना सर्वसाधारण मारिएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
उक्त कारबाहीका क्रममा आठ जना बालबालिकासहित १८ जना सर्वसाधारणको मृत्यु भएको मानवअधिकावादी समूहले जानकारी दिएको छ ।
तर सेनाले भने सो कारबाहीमा आईएसका लडाकू नै मारिएका जनाएको छ । यस आक्रमणमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएका र तीमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
सिरियामा रहेका मानवअधिकारवादी समूहले कारबाहीका क्रममा सेनाले ज्यादति गरेको पनि बताएको छ । रुसी समर्थक सेनाबाट भएको यस हवाई आक्रमण आईएस लक्षित रहेको बताइएको छ । रासस/एएफपी