पाल्पा, ११ भदौ । साउने झरीले पहिरो खसेर ग्रामीण क्षेत्रका सडकमा यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु र उपभोक्ता मर्कामा परेका छन् ।
अधिकांश सडक वर्षात्को बेला पहिरो खसेर अवरुद्ध बनेपछि यहाँका जिल्ला सदरमुकाम तानसेन, रुपन्देहीको बुटवल र नवलपरासी जिल्लासँग सिमाना जोडिएका क्षेत्रमा निस्कन पाल्पावासीलाई समस्या हुन थालेको छ ।
जिल्लाका ग्रामीण भेगमा अहिले तानसेनदेखि एक दर्जनभन्दा बढी स्थानमा साना सवारी साधन जिप पनि पुग्न सकेको स्थिति छैन । आधा बाटासम्म जिप पुग्ने गरेपछि गन्तव्यमा सवारीसाधन पुग्न नसक्दा यात्रु पैदल हिँड्न बाध्य भएका छन् । मालबाहक साधन पनि आधा बाटासम्म सामान लिएर पुग्ने र आधा बाटाबाट नै सामान भरिया लगाएर पसलसम्म पुर्याउन बाध्य हुने गरेका छन् ।
साउन महिनाको झरीले ग्रामीण क्षेत्रका सडकमा पहिरो खसेर अवरुद्ध बनेपछि दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको स्थानीयवासीले बताएका छन् । सामान ढुवानी गर्न सडकको कारण देखाउँदै ग्रामीण भेगका व्यापारीले मूल्य बढाउन थालेपछि उपभोक्ता समस्यामा परेका हुन् ।
अविरल वर्षाले पश्चिम पाल्पाका सत्यवती र बल्ढेङ्गढीलाई जोड्ने कञ्चनको भिरमा पहिरो गएपछि बल्ढेङ्गढी गाविसमा यातायातका साधन चल्न सकेका छैनन् । रुपन्देही जिल्लाबाट नियमित साना सवारी साधन सञ्चालन भए पनि अहिले पहिराका कारण त्यस क्षेत्रमा सवारी सञ्चालन हुन नसक्दा यात्रु समस्या भोग्न बाध्य भएका छन् ।
मालबाहक साधन सञ्चालन हुन नसकेपछि दैनिक उपभोग्य समान समेत रु ३० देखि ५० समेत बढाएको स्थानीयवासीको भनाइ छ । पहिराका कारण यातायात अवरुद्ध हुँदा बल्ढेङ्गढीका सुकादमार, गहते, काउले, चिदीपानी, लौधपानी लगायत गाउँका मानिस महँगो मूल्यमा सामान किन्न बाध्य भएको स्थानीयवासी लेखबहादुर कार्की बताउँछन् ।
भिरमा पहिरो गएको र कञ्चन खोलको बाँध समेत खोलाले बगाएपछि पश्चिम पाल्पाका सत्यवती, बल्ढेङ्गढी र जुठौपौवा गाविसमा यातायातका साधन चल्न सकेका छैनन् ।
यसैगरी तानसेन गोठादी, बहादुरपुर, झडेवामा सवारीसाधन सञ्चालनमा पहिराले सडक अवरुद्ध बनेपछि समस्या भएको हो । नवलपरासीदेखि, मित्याल, अर्चले र झिरुबाँस क्षेत्रमा समेत सवारी सञ्चालन हुन नसक्दा स्थानीयवासी दोहोरो मारमा परेका हुन् ।
गाउँमा सामान समेत नपाइने र पाइने सामान समेत महँगो मूल्यमा खरिद गर्नुपर्ने स्थानीय बासिन्दा रामबहादुर सारु मगरले बताए । रासस