काठमाडौं । सहकारी तथा गरिवी निवारण मन्त्रीमा नवनियुक्त हृदयराम थानी २०१७ जेठ २६ गते पिता पद्मलाल थानी र माता देवी थानीको काेखबाट बयलकांडा सुर्खेतमा जन्मिएर हाल वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेतमा बस्दै आएका छन् ।
इन्जिनियर हुने सपना बोकेर २०३५ सालमा इन्जिनियररिङ क्याम्पस, पुलचोकमा अध्ययनरत थानीले यसै क्याम्पसबाट राजनीतिक अभियानको सुरुवात गरेका थिए । ३८ वर्ष अघिको त्यही अभियानले २०७३ साल भदौ १० गते सहकारी तथा गरिवी निवारण मन्त्री हुन पुगेका छन् । इन्जिनियररिङ क्याम्पस, पुलचोकबाट उच्च अध्ययन थालेका उनले आइई र शंकरदेव क्याम्पस व्यवस्थापन संकायमा स्नातक र त्रिवि किर्तिपुरबाट एमए अध्ययन गरेका छन् ।
विद्यार्थी राजनीतिमा शुरु देखिनै लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचोक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए । स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष समेत भए ।
नेपाली कांग्रेस जिल्ला कार्या समिति, सुर्खेतको २०४५–२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए। नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९–२०६० मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर पनि काम गरे।
नेपाली कांग्रेसको १३ औं महाधिवशेनबाट प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ। उनले पटक पटक जेल जीवन विताएका छन् । २०४२ सालको सत्याग्रहको बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्धारा गरिएको आन्दोलनका क्रममा सेन्टर जेल पनि पुगे भने २०४६ सालको जनआन्दोलनमा उनलाई भद्रगोलजेल हालियो ।
जनआन्दोलन २०६२/६३ को क्रममा २०६२ माघ १९ गते सुर्खेतमा विरोध कार्यक्रमबाट गिरफ्तार गरी १ महिने पुर्जी थमाई थानीलाई हिरासतमा राखिएको थियो। २०४५ सालको जनजागरण अभियान अन्तर्गत काठमाडौंमा गिरफ्तार गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएकोमा पार्टीद्धारा धरौटीमा रिहा गराएको थियो ।
थानी संसदीय राजनीतिमा भने प्रतिनिधि सभा सदस्यको रुपमा क्षेत्र नं २, सुर्खेतबाट २०५६ मा निर्वाचित भए । त्यसपछि प्रतिनिधि सभा राज्य व्यवस्था समितिको सभापति भए । उनले प्रथम पटक २०५८–२०५९ र दोस्रो पटक २०६० मा राज्य व्यवस्था समितिको सभापति भएका थिए। त्यति वेला उनले कानून बनाउने कुरामा अहम भूमिका खेलेका थिए ।
२०५१ मा सुर्खेत क्षेत्र नं २ मा प्रतिनिधिसभा उम्मेदवार भएका थानी २०६४ मा सोही क्षेत्रबाट संविधानसभा उम्मेदवार भएका थिए भने दोस्रो संविधानसभा निर्वाचन २०७० मा सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित हुन् । सुर्खेतका जनताको यहि विश्वास र भरोसाले थानीलाई सरकारको सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारीसम्म पुर्याएको छ। इमानदारीताको राजनीतिमा विश्वास गर्ने कुशल संगठकका रुपमा पनि परिचित छन् । यही कुराले नै उनी यो जिम्मेवारी सम्म पुग्न सफल भए ।
प्रकाशित मिति: ११ भाद्र २०७३, शनिबार ०९:०९