काठमाडौँ, १० भदौँ – नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीले पदतथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेबी भण्डारीसँग सपथ लिएपछि मन्त्रीहरुले मन्त्रालय पुगेर पदभार पनि ग्रहण गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
यसरी पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरुमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरुङ छन् ।
नेपाली कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले आफ्नो मन्त्रिमण्डललाई अहिले तेस्रोपटक विस्तार गरेका हुन् ।
परिणाम देखिने गरी काम गर्नुस् : परराष्ट्रमन्त्री डा. महत
परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।
मन्त्रीको शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री डा.महतले उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिएका हुन् ।
मन्त्रालय मातहतका सबै कार्यका बारेमा नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै मन्त्री डा.महतले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोत साधनको अत्यधिक उपयोग गरेर काम गर्न आग्रह गरे ।
‘‘कुनै गल्ती नगरी काम गर्छु,’’- मन्त्री थापा
स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताएका छन् ।
मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताए ।
आफूले पाएको जिम्मेवारी सामान्य जिम्मेवारी नभएको आफूलाई हेक्का रहेकाले काम गर्ने क्रममा उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता व्यक्त गरे ।
उहाँले स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न निष्ठापूर्वक सत्यका पक्षमा रही काम गर्ने बताएका छन् ।
पदभारपछि उहाँले पहिलो निर्णय युवा सरोकारको विषयमा गर्दै नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गरेका छन् ।
कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच हार्दिकतामा थकालीको जोड
नवनियुक्त वाणिज्यमन्त्री रोमी गौचन थकालीले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व हार्दिकताका साथ हालेमालो गरेर अगाडि जाँदा सजिलो हुनेमा जोड दिएका छन् ।
आज सिहंदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिँदै –‘हामी जनतालाई सेवा दिने हो। राजनीतिक आस्थाका आधारमा कसैमाथि विभेद् गरिने छैन, त्यसैले तपाइँहरु निर्धक्क भएर काम गर्नुहोस् ।’मन्त्रिले भने ।
मन्त्री थकालीले विशेषज्ञता हासिल गरेका कर्मचारीलाई प्राथमिकता राखेर काम गर्नुपर्ने भन्दै आफूले मन्त्रालयको काम गर्ने समूहको नेतृत्वलाई कमजोर नबनाउने प्रतिवद्धता पनि व्यक्त गरे
मुस्ताङबाट विसं २०७० को संविधानसभाको निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित मन्त्री थकालीले विसं २०३४ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु प्राथमिकता’ – मन्त्री गिरी
नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै –“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन, त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ, म आस्थाका आधारमा भन्दापनि कामका आधारमा मूल्याङ्कन गर्छु ।”
मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेर मात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।
लोकतन्त्रमा कोही सानो ठूलो नहुने– मन्त्री यादव
विगतको सशस्त्र द्वन्द्वबाट क्षतिभएका भौतिक पूर्वाधारको पुनःनिर्माण हुन नसकेकामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयका कर्मचारीले नवनियुक्त मन्त्रीको ध्यानार्कषण गराएका छन् ।
नवनियुक्त मन्त्री सीतादेवी यादवको सम्मानमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव सर्वोजितप्रसाद यादवले सो ध्यानार्कषण गराएका थिए ।
मन्त्रालयमा मन्त्रीको पद बहाली भएलगत्तै आयोजित कार्यक्रममा सचिव यादवले दुईतिहाइ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण हुन बाँकी रहेको बताइन ।
दशवर्ष पहिले २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भई माओवादी लडाकुको नेपाली सेनामा समायोजन, द्वन्द्वपीडित जनताको उपचार, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्ने उद्देश्यले शान्ति तथा पुनःनिर्माण मन्त्रालयको गठन भएको थियो ।
मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिँदै कामप्रतिको ढिलासुस्ती र अपारदर्शीताले लोकतन्त्रलाई कुरुप बनाउने हुँदा त्यस कार्यतर्फ सजग हुन आग्रह पनि गरेकी छन् ।
दशवर्ष पहिले चैत १८ गते शान्ति सचिवालयको खारेजी र मुलुकमा दिगो शान्ति कायम गर्ने अभिप्रायबाट स्थापित सो मन्त्रालय अन्तर्गत रु ३५ अर्ब बराबरको क्षतिग्रस्त भौतिक पुनःसंरचनाको निर्माण हुनुपर्नेमा हालसम्म रु नौ अर्बबराबरका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण भएका छन् ।
पूर्वाधार विकास र हवाई सञ्जाल : पर्यटन विकासको आधार
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताएका छन् ।
सिंहदरबारमा आज पद बहालीपछि मन्त्रालय मातहत निकायका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शाहीले पारदर्शी ढङ्गले परिणाममुखी काम गर्न आग्रह गरे ।
“हाम्रो मुख्य आयस्रोत पर्यटन हो, देश बनाउने दरिलो आर्थिक स्रोतको रुपमा रहेको पर्यटन मन्त्रालयलाई गतिशील बनाई पर्यटन विकासका लागि पूर्वाधार विकास र हवाई सेवा विस्तारलाई विशेष प्राथमिकताका साथ अघि बढाइनुपर्छ,”–मन्त्री शाहीले भने।
पर्यटन प्रवद्र्धनका लागि पूर्वी भेगमा जति गतिविधि छन्, त्यसको तुलनामा पश्चिम र सुदूरपश्चिम पछि परेको भन्दै नीतिगत सुधारसहित पूर्वाधार विकास र हवाई सेवाको पहुँचका लागि काम गरिनुपर्नेमा जोड दिएका छन् ।
मुलुक र जनताको भलाइ गर्छ भन्ने विश्वास बढाउनुपर्छ – मन्त्री खाँण
नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रियताको सम्बद्र्धन, नेपाली जनताको स्वतन्त्रता र सुरक्षाका लागि नेपाली सेनाले गौरवशाली भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहालीपछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै उनले भने मुलुकको संविधान र कानुन कार्यान्वयनमा पनि नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।
अन्तर्राष्ट्रिय जनतामा समेत सेनाले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाइरहेको उल्लेख गर्दै नवनियुक्त रक्षामन्त्री खाँणले भन्नुभयो–“नेपाली जनतामा सेनाप्रति जुन विश्वास छ, मुलुक र जनताको भनाइ गर्छ, सुरक्षा दिन्छ भन्ने त्यो विश्वासलाई अझै बढाउने कार्यलाई मूर्तरुप दिनुपर्छ ।”
नेपाली सेना र जनताबीच रहँदै आएको आत्मीय सम्बन्ध विस्तार गर्ने, सङ्गठनलाई आधुनिकीकरण गर्ने, सुदृढ तुल्याउने गौरव र प्रतिष्ठा बढाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उहाँले नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा नेपाली सेनाले गरेको कार्यमा सहयोग पुर्याउनु हामी सबैको दायित्व हो भनेका थिए ।
शहरी क्षेत्रलाई बस्न योग्य बनाउँछुः मन्त्री केसी
शहरी विकास मन्त्री अर्जनुनरसिंह केसीले आफूले शहरी क्षेत्रलाई बस्न योग्य बनाउनको लागि महत्वपूर्ण कामगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पदभारग्रहण गरेपछि मन्त्री केसीले आफ्नो काम राजधानी केन्द्रीत नभई समग्र देशका गाउँदेखि नगरसम्मको कामलाई प्राथमिकतामा राखिने प्रतिवद्धता पनि व्यक्त गरेका हुन् ।
सीमित समयभित्र धेरै कामगर्नुपर्ने दायित्व आफू सामू रहेको भन्दै मन्त्री केसीले आफूले प्राथमिकताका कामहरूलाई एक, दुई र तीन गरेर सम्पन्न गर्दै जाने प्रतिक्रिया पनि दिए । नगर र शहरको विषयमा कसरी पारस्परिक सम्बन्धको विकास गर्न सकिन्छ भन्ने विषयमा पनि रणनीतिक कार्ययोजना बनाएर छिट्टै नै काम सुरू गर्ने पक्षमा आफू रहेको उनले जानकारी दिए ।
धेरै प्राविधिक काम यस मन्त्रालय अन्तर्गत् पर्ने भन्दै प्राविधिक काम गर्दा जानकारहरूसँग छलफल गरेर अघि बढ्ने प्रतिक्रिया पनि दिए ।
इमान्दारीतापूर्वक काम गर्न मन्त्री गुरुङको निर्देशन
नवनियुक्त श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मन्त्रालयलाई मर्यादित र व्यवस्थित बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।
मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री गुरुङले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसमा आफ्नो सहयोग हुने प्रष्ट पारे ।
वैदेशिक रोजगारको क्षेत्रमा निःशुल्क टिकट र प्रवेशाज्ञाको विषय विवादमा रहेको आफूले पनि जानकारी पाएको भन्दै उहाँले यसबारे आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने बताए ।
देशभित्रै रोजगारी सिर्जना गर्न तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
ताप्लेजुङबाट समानुपातिकमा सांसद हुनुभएको गुरुङ यसअघि विसं २०६९ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमा समेत सामान्य प्रशासनमन्त्री र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको रुपमा काम गरिसकेका छन् ।
सहकारी ऐन पारित गराउँछु : मन्त्री थानी
गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले सहकारी ऐन पारित गराउन लागि पर्ने प्रष्ट पारेका छन् ।सिंहदरबारमा पदभार ग्रहण गरेपछि संक्षीप्त प्रतिक्रिया दिँदै मन्त्री थानीले अहिलेको अवस्थामा सहकारीलाई नियमन गर्नकालागि पनि यो ऐन आवश्यक रहेको उल्लेख गरे ।
कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थानीले जनताको घरदैलोमा सेवा सुविधान पाउने गरी काम गर्न आग्रह गरे ।
मबाट आग्रह र पूर्वाग्रह हुँदैन’ : मन्त्री बुढाथोकी
नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भने– “म कुनै आग्रह र पूर्वाग्रहमा सञ्चालिन हुने छैन । क्षमताका आधारमा काम गर्नुहोस् । मेरो साथ हुन्छ ।”
योग्य र क्षमता भए पनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उने पछि परेका कर्मचारीको मनोबल उठाउन आफूले प्रयास गर्ने पनि प्रतिवद्धता व्यक्त गरे
क्षमताका आधारमा कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरिनेसमेत जानकारी गराएका थिए ।
विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन
नवनियुक्त वन तथा भू संरक्षणमन्त्री शङ्कर भण्डारीले वन मन्त्रालयअन्तर्गतका विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री भण्डारीले कर्मचारीलाई नियमित कार्यालयमा आएर आफ्नो कामकारबाही गर्न आग्रह गरेका हुन् ।
मन्त्री भण्डारीले वन तथा भू क्षेत्रको विकास र विस्तारका लागि मन्त्रीपरिषद्को वैठकमा खेल्नुपर्ने भूमिका खेल्न आफु तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए । उनले भूकम्पपछिको पुननिर्माणमा काठको आवश्यकता रहेको हुँदा आफ्नो कार्यकालमा काठ उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
मन्त्री भण्डारीले सामुहिक प्रयत्नमार्फत सबै समस्या समाधान हुने भन्दै सबैलाई एकजुट भएर काम गर्न आग्रह गरे ।
समुदायमा आधारित उद्योगलाई प्राथमिकता :उद्योगमन्त्री
नवनियुक्त उद्योगमन्त्री नवीन्द्रराज जोशीले समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार गर्ने बताएका छन् ।
शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड दिए ।
मन्त्री जोशीले कर्मचारीले अगाडि बढाएका विषयलाई आफूले सहज तुल्याउने उल्लेख गर्दै जिम्मेवार भएर काम गर्न निर्देशन पनि दिएका छन् ।
कृषिमा आधारित उद्योग तथा रोजगारी प्रवद्र्धन गर्ने क्षेत्रले विशेष प्राथमिकता पाउनुपर्नेमा जोड दिँदै उनले मन्त्रालयको स्रोत र साधनको अधिकतम प्रयोग गरेर नतिजा निस्कने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
आफूले काठमाडौँ महानगरपालिकाको उपमेयर भएर गरेका सुधारका अनुभव सुनाउँदै मन्त्री जोशीले नयाँ ढाँचाका साथ काम गरेर एक महिनाभित्र मन्त्रालयमा काम भएको छ भन्ने स्पष्ट सन्देश दिन चाहेको पनि बताए ।
प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार १७:४६