दाङ, १० भदौ । बाल अस्पतालका लागि निर्माण गरिएको भवनमा अल्पकालीन ‘बालगृह’ सञ्चालनको तयारी भएको छ ।
घोराहीनगरपालिका–१ सर्रामा बाल अस्पतालका लागि निर्माण गरिएको भवनमा अहिले बालगृह चलाउने तयारी भएको हो ।
भनव निर्माण पछि अस्पतालले केही समयसम्म सो भवनबाट सेवा दिए पनि लामो समयदेखि बन्द भएकाले यसअघि त्यहाँ अस्थायी प्रहरी पोष्टसमेत बसेको थियो ।
अस्पताल चलाउनुपर्ने माग गर्दै े स्थानीयवासीले सो कार्यको विरोध गर्दै आएका छन् । तर जिल्ला विकास समिति र नगरपालिका कार्यालयले सो बालगृह सञ्चालनका लागि बजेटसमेत उपलब्ध गराइसकेका छन् ।
अल्पकालीन बालगृह सञ्चालन गर्न घोराही नगरपालिका कार्यालयले रु दुई लाख दुई हजार र जिल्ला विकास समितिले रु एक लाख ६० हजार रकम उपलब्ध गराएको नेपाल–भारत मैत्री उमाशङ्कर नाथ योगी बाल अस्पताल समितिका अध्यक्ष प्रदीप योगी बताउनुहुन्छ ।
सो रकमबाट बालगृहका लागि सामग्री खरिद गरिएको बताइएको छ ।
जिल्लामा बालगृह नहुँदा बेवारिस बालबालिकालाई राख्नका लागि बाहिर पठाउनुपर्ने बाध्यता भएकाले अस्पतालको सो भवन प्रयोगमा ल्याउन लागिएको हो ।
महिलाको हत्या
दाङ जिल्लाको त्रिपुर नगरपालिका वडा नं १० निवासी ४७ वर्षीया विष्णु वलीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख धीरजप्रताप सिंहका अुनसार वलीलाई घरदेखि २० मिटर पर लगेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
उनको हत्या गएराति ११ः३० देखि १२ बजेको बीचमा भएको हुन सक्ने प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान सुरु भएको जनाएइको छ । विष्णुका श्रीमान् भारतमा दोस्रो श्रीमतीका साथ बस्दै आएका छन् । रासस