काठमाडौँ, १० भदौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइन् । पद तथा गोपनीयताको शपथ लिएपछि नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदस्थापन गरे । पदस्थापन कार्यक्रमसँगै उनीहरुले आफ्ना मन्त्रालय मातहतका सबै कर्मचारीलार्इ निर्देशन दिए ।
काँग्रेसका कोषाध्यक्षमा निर्वाचित यादव पहिलोपटक मन्त्री बनेकी छन् । भने काँग्रेसका केन्द्रीय सदस्य शाही, थापा, गिरी, जोशी, थानी र भण्डारी पहिलोपटक मन्त्री बनेका हुन । यसअघि केसी, डा. महत, खाँण, गुरुङ, बुढाथोकी र गुरुङले मन्त्री पदको अनुभव सम्हालिसकेका छन् ।
गाउँदेखि नगरसम्मको कामलाई प्राथमिकता : मन्त्री केसी
शहरी विकास मन्त्री अर्जनुनरसिंह केसीले आफूले शहरी क्षेत्रलाई बस्न योग्य बनाउनको लागि महत्वपूर्ण कामगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा पदभारग्रहण गरेपछि मन्त्री केसीले आफ्नो काम राजधानी केन्द्रीत नभई समग्र देशका गाउँदेखि नगरसम्मको कामलाई प्राथमिकतामा राखिने प्रतिवद्धता पनि व्यक्त गरेका हुन् ।
सीमित समयभित्र धेरै कामगर्नुपर्ने दायित्व आफू सामू रहेको भन्दै मन्त्री केसीले आफूले प्राथमिकताका कामहरूलाई एक, दुई र तीन गरेर सम्पन्न गर्दै जाने जनाएका छन् ।
कार्यभार सम्हाल्दै गर्दा शहरी विकास मन्त्री केसीले भूकम्पको पूनर्निर्माण लगायतका सम्बन्धमा मन्त्रालयको कार्यक्षेत्रभित्रपर्ने कामको मूल्याङ्कन र अनुगमनको लागि केन्द्रबाट सोझै हेर्न अलिकति गाह्रो पर्ने भएकोले त्यसलाई विकेन्द्रीत गर्न ५ वटा क्षेत्रमा नै कार्यालय गठन गर्नुपर्नेमा आवश्यकता देखेर पहिलो चरणमा ४ वटा विकास क्षेत्रमा कार्यालय गठन गर्ने निर्णय गरिएको जानकारी पनि दिए ।
यो अहिलेको संरचना अनुसार भएकोले ५ विकास क्षेत्रलाई प्राथमिकतामा राखिएको भएपनि संघीय संरचनामा गएपछि यसलाई सोही प्रणालीमा लैजाने पनि जानकारी केसीले दिए ।
परिणाम देखिने गरी काम गर्नुस् – परराष्ट्रमन्त्री डा. महत
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए ।
मन्त्रीको शपथ लिइसकेपछि मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री डा. महतले उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिए ।
मन्त्रालय मातहतका सबै कार्यका बारेमा नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै मन्त्री डा. महतले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोत साधनको अत्यधिक उपयोग गरेर काम गर्न आग्रह गरे । उनले रिक्त बाँकी मुलुकमा पनि छिट्टै राजदूत पठाइने जानकारी समेत दिए ।
भारत र चीन दुवै नेपालका लागि महत्वपूर्ण छिमेकी मुलुक भएकाले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै उनले सम्बन्ध थप उचाइमा पुर्याउन पहल गर्ने विश्वास दिलाए । उनले भने– “यो सम्बन्धलाई सुमधुर नगरी राष्ट्रिय अखण्डता, एकता र राष्ट्रिय स्वार्थलाई संवद्र्धन गर्न सकिँदैन ।”
मुलुक र जनताको भलाइ गर्छ भन्ने विश्वास बढाउनुपर्छ–मन्त्री खाँण
नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रियताको सम्बद्र्धन, नेपाली जनताको स्वतन्त्रता र सुरक्षाका लागि नेपाली सेनाले गौरवशाली भूमिका निर्वाह गर्दै आएको बताए ।
रक्षा मन्त्रालयमा पदबहालीपछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै उनले भने–“मुलुकको संविधान र कानुन कार्यान्वयनमा पनि नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।’’
अन्तर्राष्ट्रिय जनतामा समेत सेनाले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाइरहेको उल्लेख गर्दै नवनियुक्त रक्षामन्त्री खाँणले भने–“नेपाली जनतामा सेनाप्रति जुन विश्वास छ, मुलुक र जनताको भनाइ गर्छ, सुरक्षा दिन्छ भन्ने त्यो विश्वासलाई अझै बढाउने कार्यलाई मूर्तरुप दिनुपर्छ ।”
समुदायमा आधारित उद्योगलाई प्राथमिकता : उद्योगमन्त्री
नवनियुक्त उद्योगमन्त्री नवीन्द्रराज जोशीले समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार गर्ने बताए ।
शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा उनले कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड दिए ।
उनले भने– “जनताले अनुभूति गर्नेगरी सेवा प्रदान गर्नुपर्छ, उनीहरुले पाउने सुविधामा कमी आउनु भएन ।”
मन्त्री जोशीले कर्मचारीले अगाडि बढाएका विषयलाई आफूले सहज तुल्याउने उल्लेख गर्दै जिम्मेवार भएर काम गर्न निर्देशन दिए ।
कृषिमा आधारित उद्योग तथा रोजगारी प्रवद्र्धन गर्ने क्षेत्रले विशेष प्राथमिकता पाउनुपर्नेमा जोड दिँदै उनले मन्त्रालयको स्रोत र साधनको अधिकतम प्रयोग गरेर नतिजा निस्कने गरी काम गर्नुपर्नेमा जोड दिए ।
‘मबाट आग्रह र पूर्वाग्रह हुँदैन’ : मन्त्री बुढाथोकी
नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिए ।
सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भने– “म कुनै आग्रह र पूर्वाग्रहमा सञ्चालिन हुने छैन । क्षमताका आधारमा काम गर्नुहोस् । मेरो साथ हुन्छ ।”
योग्य र क्षमता भए पनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उनले पछि परेका कर्मचारीको मनोबल उठाउन आफूले प्रयास गर्ने बताए ।
इमान्दारीतापूर्वक काम गर्न मन्त्री गुरुङको निर्देशन
नवनियुक्त श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मन्त्रालयलाई मर्यादित र व्यवस्थित बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।
मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री गुरुङले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसमा आफ्नो सहयोग हुने प्रष्ट पारे ।
वैदेशिक रोजगारको क्षेत्रमा निःशुल्क टिकट र प्रवेशाज्ञाको विषय विवादमा रहेको आफूले पनि जानकारी पाएको भन्दै उनले यसबारे आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने बताए ।
कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच हार्दिकतामा जोड
नवनियुक्त वाणिज्यमन्त्री रोमी गौचन थकालीले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व हार्दिकताका साथ हालेमालो गरेर अगाडि जाँदा सजिलो हुने बताएका छन् ।
पदभार ग्रहण गरेपछि मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिँदै उनले भने–‘‘हामी जनतालाई सेवा दिने हौँ । राजनीतिक आस्थाका आधारमा कसैमाथि विभेद् गरिने छैन, त्यसैले तपाइँहरु निर्धक्क भएर काम गर्नुहोस् ।’’
मन्त्री थकालीले विशेषज्ञता हासिल गरेका कर्मचारीलाई प्राथमिकता राखेर काम गर्नुपर्ने भन्दै आफूले मन्त्रालयको काम गर्ने समूहको नेतृत्वलाई कमजोर नबनाउने प्रतिवद्धता व्यक्त गरे ।
लोकतन्त्रमा कोही सानो ठूलो नहुने– मन्त्री यादव
विगतको सशस्त्र द्वन्द्वबाट क्षतिभएका भौतिक पूर्वाधारको पुनःनिर्माण हुन नसकेकामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयका कर्मचारीले नवनियुक्त मन्त्रीको ध्यानार्कषण गराएका छन् ।
नवनियुक्त मन्त्री सीतादेवी यादवको सम्मानमा मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव सर्वोजितप्रसाद यादवले सो ध्यानार्कषण गराएका हुन् ।
मन्त्रालयमा मन्त्रीको पद बहाली भएलगत्तै आयोजित कार्यक्रममा सचिव यादवले दुईतिहाइ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण हुन बाँकी रहेको बताए ।
मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिँदै कामप्रतिको ढिलासुस्ती र अपारदर्शीताले लोकतन्त्रलाई कुरुप बनाउने हुँदा त्यस कार्यतर्फ सजग हुन आग्रह गरिन् । उनले लोकतन्त्रमा सानो र ठूलो नभई कामले सानो र ठूलो छुट्ट्याउँछ भन्नुहुँदै परिणाम प्राप्तिका लागि सदैव कामप्रति चनाखो भई काम गर्नुपर्ने समय आएको बताइन् ।
सेवा सुविधा जनताले अनुभित गर्न पाउँनु पर्छ :मन्त्री थानी
नवनियुक्त सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले जनताले अनुभित गर्न सेवा सुविधा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शपथ पछि मन्त्रालयमा पदवाही गर्दै मन्त्री थानीले मन्त्रालयले प्रदान गर्ने सेवा सुविधालाई जनताका घरदैलोमा पुर्याउने काम पहिलो प्राथमिकतामा पर्ने बताए ।
पदभार ग्रहण गरेपछि मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको प्रत्यक्ष सरकोकार रहेको सहकारी क्षेत्रलाई प्रधावकारी बनाउन आग्रह गरे ।
मन्त्री थानीले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व हार्दिकताका साथ हालेमालो गरेर अगाडि जाँदा परिणाम देखिने भएकाले समन्वयकासाथ काम गर्न निर्देशन दए । उनले सबैको सल्लाह र सुझावमा सहकारी ऐन निर्माण गर्नु पहिलो काम हुने बताए ।
‘कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु प्राथमिकता’ – मन्त्री गिरी
नवनियुक्त सिँचाइ मन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन् ।
सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने–“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन, त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ, म आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्याङ्कन गर्छु ।”
मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेर मात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।
विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन
नवनियुक्त वन तथा भू संरक्षणमन्त्री शङ्कर भण्डारीले वन मन्त्रालयअन्तर्गतका विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन दिए ।
मन्त्रालयमा पदबहाली गर्दै मन्त्री भण्डारीले कर्मचारीलाई नियमित कार्यालयमा आएर आफ्नो कामकारबाही गर्न आग्रह गरेका हुन् ।
उनले भने, “तपाइँलाई समस्या परेमा आफ्नो उचित र जायज माँग मलाई भन्नुहोस् मैले गर्नसक्ने समाधान गर्छु तर इमान्दार भएर काम गर्नुहोस् ।”
पूर्वाधार विकास र हवाई सञ्जाल : पर्यटन विकासको आधार
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताएका छन् ।
सिंहदरबारमा पद बहालीपछि मन्त्रालय मातहत निकायका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शाहीले पारदर्शी ढङ्गले परिणाममुखी काम गर्न आग्रह गरे ।
“हाम्रो मुख्य आयस्रोत पर्यटन हो, देश बनाउने दरिलो आर्थिक स्रोतको रुपमा रहेको पर्यटन मन्त्रालयलाई गतिशील बनाई पर्यटन विकासका लागि पूर्वाधार विकास र हवाई सेवा विस्तारलाई विशेष प्राथमिकताका साथ अघि बढाइनुपर्छ,”–मन्त्री शाहीले भने ।
‘‘कुनै गल्ती नगरी काम गर्छु,’’— मन्त्री थापा
स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताएका छन् ।
मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताए ।
उनले भने, ‘‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो । त्यसैले मैले त्यो विश्वास तोड्नु हुन्न ।’ आफूले पाएको जिम्मेवारी सामान्य जिम्मेवारी नभएको आफूलाई हेक्का रहेकाले काम गर्ने क्रममा उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
उनले स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न निष्ठापूर्वक सत्यका पक्षमा रही काम गर्ने दोहोर्याए । पदभारपछि उनले पहिलो निर्णय युवा सरोकारको विषयमा गर्दै नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गरे ।
प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार १८:०१