जाजरकोट, ९ भदौ । सम्पत्तिको लोभले मानिस आफुलाई जन्मदिने आमालाई पनि बाँकी राख्दैन भन्ने कुराको ज्वलन्त उदाहरण जाजरकोटको एउटा घटनाले देखाएको छ । सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले सम्पतीको लोभमा आफ्नै आमाको हत्या गरेको छन् ।
खत्रीले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको प्रहरीले जनाएको छ । आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको जाजरकोट प्रहरीले दावी गरेको छ ।
नलसिंहगाड जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा वितरण गर्न शुरु गरेपछि हत्या योजना बुनिएको प्रहरी अनुसन्धानले देखाएको छ । बुद्धिले आमालाई हत्या गरी घरनजिकैको बारीमा गाडीएको अवस्थामा प्रहरीले पन्ध्र दिनपछि उत्खनन् गरेको छ ।
गत साउन २१ गते राती सुतिरहेको अवस्थामा बञ्चरो प्रहार गरी देउमतीको हत्या गरेको बुद्धिले प्रहरी समक्ष बयान दिएका छन् ।
हत्या गर्नुको अघिल्लो दिनै बुद्धिले खाडल खनि तयार पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘हत्या गर्नुको अघिल्लो दिनै खाडल खनेर तयार बनाएको रहेछ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत बोहोराले भने, ‘सुतेको बेला बञ्चरो प्रहार गरी हत्या गरेर खाडलमा लिएर गाडिएछ । घटना योजनाबद्ध तरिकाले भएको देखिन्छ ।’
बुद्धिले साउन २२ गतेबिहानै देखि आमा हराएको भन्दै प्रहरी चौकी सेपुखोलामा गत भदौ २ गते निवेदन दिएका थिए । तर, बुद्धिको व्यवहार अस्वभाविक र शंकासपद देखिएपछि प्रहरीले निगरानीमा राखेको थियो ।
घटनास्थल लैखम विद्युत आयोजनाको बाँध निर्माण स्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युतगृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा एक सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ । आयोजनाले प्रतिरोपनी चार लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ ।
बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाइ छ । जेठाजुको छोरालाई समेत अंश लाग्ने सासुको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक÷पटक दवाव दिने गरेको प्रारम्भिक बयानमा खुलेको छ । देउमतीका श्रीमान्को केही वर्ष अघि मृत्यु भएपछि उक्त जग्गा उनका नाममा नामसारी गरिएको थियो ।
सोही जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ । देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाती मजदूरीको सिलसिलामा हाल भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेको अनुसन्धानबाट खुलेको छ ।
देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोशिस गरिएको थियो । तर, मालपोत कार्यालयले अंशियार अरु पनि भएको अवस्थामा उनीहरुको सहमतिबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पत्ती रित्तै फर्किएका थिए ।
घरमा गइसकेपछि पनि शर्मिलाले उक्त जग्गा जसरी पनि आफ्नो नाममा गराउन दवाव दिइरहेको प्रहरीले बताएको छ । ‘पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दवाव दिएको देखिएको छ’, घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भने, ‘नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
खाडलमा पुरिएको शवलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गत शनिबार मात्र उत्खनन् गरेको छ । शव सडिसकेको अवस्था भेटिएको भट्टले बताए । शव अन्यत्र लिन सक्ने अवस्थामा नभएपछि प्राथामिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक भट्टले बताए । हत्या अभियोगमा बुद्धिबहादुर र उनकी श्रीमति शर्मिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: ९ भाद्र २०७३, बिहीबार १७:२०