ललितपुरका सँैवु, चक्रपथ वरपरका स्थानमा पुनः नापी भइरहेको छ । इमाडोल, टिकाथली लगायतका स्थानमा भर्खरै मात्रै नापी सकिएको छ । विशेष गरेर जग्गाको स्वरुप धेरै परिवर्तन भइरहेका ठाउँमा पुनः नापी भइरहेको प्रमुख नापी अधिकृत बुद्धिमान जैसीले बताउनुभयो । उनले भने, “६० प्रतिशत परिवर्तन हुँदा नापी गर्ने गरिएपनि यी स्थानमा त्यो भन्दा कयौँ गुणा परिवर्तन भइसकेको छ ।”
गत वर्ष नापी भएकामा यस वर्ष पनि त्यसले निरन्तरता पाउने जैसी बताउँछन् । वर्षाका समयमा नापी हुन नसकेकोमा अहिले त्यसले समेत निरन्तरता पाइरहेको छ । उन भन्छन्, “अभियानकै रुपमा अघि बढाउन नसकिए पनि हामीले निरन्तरता दिइरहेका छौँ ।” लामो समयपछि हुन लागेकाले पनि धेरै खालका कठिनाइ रहेका छन् । नापी आफैँमा जटिल काम भएको उन बताउँछन् ।
सानो क्षेत्रफल जग्गाको समेत मूल्य चर्को हुँदा कतिपय जग्गाधनीले चासो बढी देखाउने गरेका छन् । उनी भन्छन्, “बाटो अलिकति पर हुँदा पनि आफ्नो ठूलो मूल्यको जग्गा बच्ने सोच्छन् ।”
समय र जग्गाको भाउका कारणले जग्गाधनीको चासो बढेको हो । कतिपय जग्गाधनीले भने नाप–नक्सा हुँदासमेत उपस्थित नहुने गर्छन् । जग्गाधनी उपस्थित हुँदा फिल्डमा नै विवाद टुङ्गिने भएपनि नहुँदा लम्बिने गर्छ । उन भन्छन्, “कतिपय जग्गाधनीले पुर्जा, नक्सा आफूसँग छँदैछ भन्ने सोच्ने पनि छन् ।” पहिले चासो नदेखाए जस्तो गर्नेहरु पनि पछि आफैँ विवाद झिक्ने गर्छन् । जग्गाधनी पछि आफ्नो अनुकूल समयमा जग्गा नाप्न भन्ने गरेपनि कार्यालयले त्यो समयमा नभ्याउने उनी बताउँछन् ।
ललितपुरका इमाडोल, सैँवु, धापाखेल, सुनाकोठी, टिकाथली लगायतका नगर नजिकका ठाउँमा जग्गाको स्वरुप परिवर्तन भइरहेका छन् । विसं २०२१/२२ सालमा नापी हुँदा इमाडोल गाविसमा चार हजार कित्ता जग्गा थियो । अहिले पुनः नापी हुँदा १८ हजार जग्गा कित्ता बनेका छन् । इमाडोलमा चारसय प्रतिशतभन्दा बढी परिवर्तन भएको पुनः नापीले देखाएको छ । अहिले नापी भइरहेका ललितपुर उपमहानगरपालिका अन्तर्गतका क्षेत्र, सैँवु, इमाडोल, टिकाथलीलगायत सबै ठाउँको उत्तिकै मात्रामा परिवर्तन भइरहेको छ ।
उन भन्छन्, “पहिले खेतले भरिएको देखिने भएपनि अहिले तीनै ठाउँ घरले भरिएको नक्साले देखाएको छ ।” द्वन्द्वकालमा कुनै पनि जिल्लामा जग्गा नापीको काम अघि बढ्न सकेको थिएन । विभिन्न जिल्लामा सुरु भए पनि सुरक्षाको कारण अघि बढ्न सकेन ।
त्योभन्दा पहिले समेत जग्गाको नापी गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको थिएन । पछिल्लो समयमा नापी विभागले अछाम, अर्घाखाँचीजस्ता द्वन्द्वकालमा रेकर्ड नष्ट भएका जिल्लामा पुनः नापीलाई प्राथमिकता दिएको छ ।
रासस