धनगढी, ८ भदौ । गौरा पर्व मनाइने सुदूरपश्चिमाञ्चल क्षेत्रका गौराघर र मन्दिरमा आज भदौ सप्तमीका दिन परम्परागतरुपमा गौरा भित्र्याइएको छ ।
व्रत बसेका महिलाले धान, साउँ, कुसलगायतका बोट विरुवा प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ आज गौरा भित्र्याएका हुन् । घर नजिकको खेतमा गई सामूहिकरुपमा ‘फाग’ (गौरा भित्र्ययाउँदा स्थानीय भाषामा महिलाले गाउने गीत)लगायतका गीत गाउँदै यो प्रतिमा तयार पारिन्छ ।
गौरा भित्र््याइसकेपछि दैनिक ब्रतालु महिलाले गौरी भगवती र महेश्वर (शिव) भगवान्को पूजा अर्चना गर्ने गर्दछन् । पूजामा व्रतालु महिलाहरूको सहभागिता हुन्छ ।
पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरिका गेडागुडी)को विशेष महत्व रहन्छ । ‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा रहेको छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन छ र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वास समेत रहँदै आएको छ ।
भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ । बिरुडा भिजाएको दिनदेखि नै गौरा पर्व सुरु भएको मानिन्छ ।
गौरा भित्र्याइएसँगै धनगढीको वनदेवी मन्दिर, नैनादेवी मन्दिर, शिवपुरी धामलगायतका मन्दिरका साथै गौराघरमा गौरा भगवती र महेश्वर (शिव)को पूजा गर्ने महिलाहरूको घुइँंचो लागेको छ ।
पूजाको कम सकिएपछि हरेक दिन महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा खेल खेल्ने गर्दछन् । रासस