फलेवास (पर्वत), ८ भदौ । करिब दुई दशक अघिदेखि बन्द भएको पर्वत जिल्लाको मिसन अस्पताल अलपत्र अवस्थामा गुज्रिएको छ ।
विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको हुवासमा रहेको अस्पताल अझैसम्म सम्बन्धित निकायको बेवास्ताका कारण अलपत्र बनेको हो ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको मिसन अस्पताल सञ्चालनमा नआउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । विसं २०५० सालमा स्थापना गरिएको अस्पताल बन्द भएपछि गाउँलेले उपचारमा सास्ती व्यहोर्नु परेको हो । उनीहरुले पटक पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह समेत गर्दै आएका छन् ।
पन्ध्र श्ययाको उक्त अस्पताल बन्द भएको दुई दशक बितिसक्न लाग्दा पनि सञ्चालनमा कसैले चासो नदिएको गाउँलेले बताए । स्थापना भएको सात वर्षसम्म अस्पताल सञ्चालनमा आएपनि माओवादी जनयुद्धसँगै अस्पताल बन्द भएको हो ।
अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । तत्कालीन अवस्थामा अस्पतालबाट पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका दुई दर्जनभन्दा बढी गाविसका एक लाख ५० हजार सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा एडभान्टिस्ट फन्ट मिसन नामक अमेरिकी संस्थाले रु एक करोड लगानी गरेर निर्माण गरेको उक्त अस्पतालका भवन र फर्निचर अहिले बेवारिसे बनेका छन् ।
अस्पताल भवन र आवास गृहमा लगाइएका टायल फुटेपछि पानी चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने निश्चित रहेको उक्त अस्पतालका पूर्व रजिस्ट्रार गङ्गा न्यौपानेले बताए । “द्वन्द्वकालमा माओवादीको डरले गर्दा अमेरिकी सरकारले आफ्ना सबै चिकित्सकलाई फिर्ता बोलायो” उनले भने – “अमेरिकी चिकित्सक फिर्ता गएपछि त अस्पताल नै बन्द भयो ।”
अस्पताल बन्द भएपनि सरकारले सञ्चालनमा चासो नदिँदा आफूहरु समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले बताउनुभयो । पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार निर्माण भएको यो अस्पताल बन्द भएपछि सर्वसाधारण उपचारका लागि पोखरा, स्याङ्जा, बुटवल, पाल्पा, भैरहवा जान बाध्य छन्, प्रधानले भने ।
सबै किसिमका बिरामीको जाँच गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि १०० सम्म बिरामी उपचारका लागि आउने गर्थे ।
हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाका भएपनि उक्त स्थानमा सुविधा सम्पन्न स्वास्थ्यचौकी स्थापना भएको छैन । यहाँ उपस्वास्थ्य चौकी मात्र छ । “अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह गर्यौँ” स्थानिय मित्रलाल बस्यालले भने– “सञ्चालनमा कसैले चासो दिएनन् ।”
अस्पताललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरुले महँगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटेर जाने बस्यालले बताए । “महँगो रकम खर्च गरेर निर्माण गरिएका सबै भवन जीर्ण बनेर भत्किन लाग्दा समेत पुनःनिर्माण र सञ्चालनमा कसैको ध्यान पुगेन”, उनले भने– “गाउ“लेले के गर्ने भनी अन्योलमा परेका छौँ ।”
गाउँलेले स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधिसँग अस्पताल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेपनि कसैले चासो नदिएको बताएका छन् । “रकम अभावले पटक पटक अस्पताल बन्द गर्दै सञ्चालन गर्र्यौ” संस्थापक राजेन्द्र तिवारीले भने– “अहिले पनि बन्द अस्पताललाई सञ्चालन गर्न लागि परेपनि सहयोग नपाउँदा समस्या भएको हो ।” उनका अनुसार राजनीतिक अस्थिरताका कारण पटकपटक बन्द हुँदै आएको उक्त अस्पताल २०५८ सालदेखि पूर्णरुपमा बन्द भएको हो ।
पछिल्लो समय हुवासमै इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा तथा सडक सुविधाको राम्रो पहुँच पुगेकाले सुविधा सम्पन्न अस्पतालको मात्रै कमी रहेको स्थानीयको माग रहेको छ । रासस