लिबाङ (रोल्पा), भदौ ८ । जिल्ला बालकल्याण समिति, रोल्पाले जोखिममा रहेका जिल्लाका विभिन्न पाँचजना विपन्न वर्गका बालबालिकालाई आर्थिक सहयोग गर्ने भएको छ ।
जिल्ला बाल कल्याण समिति, रोल्पाका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा मङ्गलबार साँझ सरोकारवालाबीच सम्पन्न भएको बैठकले सो कुराको निर्णय गरेको हो ।
यसरी सहयोग पाउने बालबालिकालाई आपत्कालीन जिल्ला बाल संरक्षण कोषबाट रकम उपलब्ध गराइने व्यवस्था रहेको बाल अधिकार अधिकृत गोकर्ण पुनले जानकारी दिए ।
पुनका अनुसार सो कोषको रकम विगतका वर्षदेखि शैक्षिक सहयोग, स्वास्थ्य उपचार, परिवारमा पुनःस्थापनालगायतका क्षेत्रमा परिचालन हुँदै आएको छ ।
यसअन्तर्गत यस वर्ष ओत गाविसका दलबहादुर डाँगीका १० वर्षीय छोरा हुकुमबहादुर डाँगी मुटुमा प्वाल परी उपचारका लागि काठमाडौँको गङ्गालाल हृदय केन्द्र बाँसबारीमा करिब एक महिनादेखि भर्ना भइरहेको र उनको शल्यकृया गर्नुपर्ने भएको हुँदा नगद रु १० हजार सहयोग गर्न लागिएको छ ।
यसैगरी, डुब्रिङ गाविस–३ रोल्पाका वीरबहादुर चलाउनेका ७ वर्षीय छोरा दीपक चलाउनेको आँखा फुलो परी दृष्टिविहीन अवस्थामा तिलगङ्गा आँखा अस्पताल, काठमाडौँमा शल्यकृयाका लागि भर्ना गरिएको हुँदा रु १० हजार सहयोग गर्न लागिएको छ ।
यस्तै, गैरीगाउँ गाविस–१ रोल्पाका मोहन बुढाथोकीका नौ महिने छोरा दीपक बुढाथोकी आगोमा परी दायाँ खुट्टा पूर्णरुपमा जलेको र नेपालगन्ज भेरी अस्पतालमा उपचार भइरहेको हुँदा रु पाँच हजार सहयोग गरिनेभएको छ ।
त्यसैगरी, लिबाङ–७ रोल्पाका कुलराज सुनारका दुई छोरा १ वर्षीय विकास सुनार र २ वर्षीय विवेक सुनार कुपोषित भएको कारण जिल्ला अस्पताल रोल्पाको सिफारिसमा तथा जिल्ला बालकल्याण समिति रोल्पाको सहयोगमा पुनःस्थापना केन्द्र दाङमा उपचार भइरहेको हुँदा आवश्यकता अनुसार अपुग भएको थप रकम सहयोग गर्ने पनि निर्णय भएको छ ।
यसरी विभिन्न क्षेत्रमा जोखिममा रहेका जिल्लाभित्रका बालबालिकालाई आव २०६१/०६२ देखि समितिले नियमितरुपमा आर्थिक सहयोग गर्दै आएको छ । रासस