बैतडी, ७ भदौ । बैतडीको तल्लादेही गाविस वडा नं. ८ डाँडाखालीका पहिरोपीडित परिवारलाई सोमबार टेन्टसहित बन्दोबस्तीका सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा गएको एक टोलीले पीडितलाई टेन्टसहित बन्दोबस्तीका सामग्री प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीबाट कटौजपानीमा एक कार्यक्रमबीच पीडित परिवारलाई सामग्री हस्तान्तरण गरिएको हो ।
पहिरो तथा जमिन भासिएर घरबारबिहीन भएका नौ परिवारलाई टेन्टसहित बन्दोबस्तीका सामग्री हस्तान्तरण गरियो ।
पहिरो तथा जमिन भासिएर विस्थापित भएका परिवारलाई अस्थायीरुपमा पुनःस्थापना गर्नका लागि टेन्टसहित बन्दोबस्तीका सामग्री हस्तान्तरण गरिएको प्रजिअ चौधरीले बताए ।
पीडित कैले सार्की, मने सार्की, जानकी सार्की, जसी सार्की, अमे सार्की, लोगे सार्की, बीरभान सार्की, मन्धरा सार्की र रत्ना पूजारालाई सामग्री हस्तान्तरण गरिएको हो ।
प्रत्येक पीडित परिवारलाई रु ३५ हजारपर्ने टेन्ट, रु पाँच हजार बराबरको त्रिपाल, भाँडाकुडा, कम्बल र लगाउने लुगासमेत वितरण गरिएको छ । टेन्ट जिल्ला प्रशासन कार्यालयको पहलमा गृहमन्त्रालयबाट प्राप्त भएको र अन्य भाँडाकुडा र त्रिपाल नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
यस्तै, जिल्ला विकास समिति र तल्लादेही गाविसका तर्फबाट पीडित परिवारका लागि १/१ क्विन्टलका दरले चामल वितरण गरिएको छ । यसैगरी, पीडित चार परिवारलाई सामाजिक चेतना तथा विकास सङ्घ साडाले पनि रु एक हजार पाँच सयका दरले सहयोग गरेको बताएको छ ।
एक टोली प्रभावित क्षेत्र गयो
पहिरो तथा जमिन भासिएर पीडित भएका नौ परिवारलाई टेन्टसहित बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेपछि तल्लादेहीमा अस्थायी टेन्ट निर्माण गर्न क्याप्टेन सुमन बस्नेतको नेतृत्वमा ११ जना नेपाली सेना, प्रहरी सहायक निरीक्षक धिरेन्द्र जोशीको नेतृत्वमा १० जना प्रहरी र चनैराज मावि श्रीकोटका आठजना विद्यार्थी बन्दोबस्तीका सामग्री बोकेर तल्लादेही गएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, स्थानीय प्रशासन र स्थानीयको सहयोगमा पीडित परिवारका लागि स्थानीय रनबहादुर बोहराले उपलब्ध गराएको जमिनमा अस्थायी टेन्ट राखिनेछ । टोलीले आज पीडित परिवारको बसोबासका लागि टेन्ट निर्माणका लागि सहयोग गर्ने बताइएको छ ।
तल्लादेही गाविसको वडा नं ८ डाँडाखालीमा गएको साउन २१ गते राति परेको अविरल वर्षाले चार घरपरिवारको घर पुरेको थियो भने पाँचजनाको घर जमिन भासिएर क्षति पुगेको थियो । डाँडाखालीका अन्य ४३ परिवार पनि जोखिममा रहेको बताइएको छ । तर उनीहरुलाई तत्कालै सार्न नपर्ने देखिएको छ ।
पहिरोपिडित खुसी
यसैबीच, तल्लादेहीका पहिरो पीडितले टेन्ट तथा बन्दोबस्तीका सामग्री प्राप्त गरेपछि खुशी भएका छन् ।
विद्यालयमा रात बिताउन बाध्य भएकाका लागि अस्थायी बसोबासको व्यवस्था भएपछि उनीहरु खुशी भएका छन् । आफूहरुको समस्या स्थानीय प्रशासनले बुझेकाले आफूहरु खुशी भएको पीडित रत्ना पूजाराले बताइन् ।
सरकारले टेन्टसहित बन्दोबस्तीका सामग्री उपलब्ध गराएकाले आफूहरु खुशी भएको पीडित अमे सार्कीले बताए । पीडितहरुलाई बन्दोबस्तीका सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी चौधरीले पीडितहरुले आफ्ना तर्फबाट पनि केही पहल गर्नुपर्ने बताए । सधैँभरी सरकारकै मुख ताकेर बस्न नहुने बताउँदै पीडितहरुले पनि मिहनेत गर्नुपर्नेमा उनले जोड दिए ।
सरकारले दिएको सहयोगलाई सदुपयोग गर्दै त्यसबाट अगाडि बढ्न उहाँले पीडितहरुलाई आग्रह गर्नुभएको छ । पीडित परिवारलाई टेन्टसहित बन्दोबस्तीका सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित, प्रहरी प्रमुख मोहनप्रसाद पोखरेल, शत्रुमर्दन गुल्मका गुल्मपति उज्वल बाँनिया, अनुसन्धान अधिकृत रमेश डाँगा, रेडक्रस सभापति भीमदत्त पाण्डेयलगायतको सहभागिता रहेको थियो ।
पूर्व अर्थराज्यमन्त्रीबाट पुनर्वासको आश्वासन
यसैबीच, पूर्व अर्थराज्यमन्त्री एवं बैतडीका क्षेत्र नं १ का सांसद दामोदर भण्डारीले तल्लादेहीका पहिरोपीडित परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत पुनःबास गराउने आश्वासन दिएका छन् ।
तल्लादेहीको डाँडाखालीका पहिरो पीडितलाई भेट्न सोही ठाउँमा पुग्नु भएका पूर्व अर्थराज्यमन्त्री भण्डारीले पीडित ५२ परिवारको पुनःबासका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
जनता आवास कार्यक्रमअन्तर्गत पीडित परिवारलाई पुनःस्थापना गर्न सकिने भन्दै उनले आफूले सक्दो पहलगर्ने बताए ।
जनताको दुःखमा साथ दिन आफू तल्लादेही पुगेको बताउँदै सांसद भण्डारीले जनताका समस्या समाधानका लागि आफू कटीबद्ध रहेको बताए । रासस