मेरो देश नेपाल र समग्र नेपाली जनताको प्रगति समुन्नतिका दिन कहिले आउला ? के यो सबै प्रगति गर्ने नायक नेपालमा जन्मेको छैन ? अथवा जन्मेको भए कुन अवस्थामा छ ? विदेशी मुलुक र त्यहाँका जनताको उन्नति मात्र हेरेर कति बस्ने नेपालीहरुले ? जस्ता कुराहरुले कुन नेपालीलाई छोएको छैन र ! पुस्तौंदेखि रोग, भोक, अभाव, अशिक्षा, सुरक्षा आदिबाट तड्पिएर बाँच्नु पर्ने र एउटै अवस्थामा पुस्तौंपुस्ता गुजार्नुपर्ने जात नै नेपाली हो ? के यस्तै तरिकाले नेपाल नयाँ नेपाल बन्न सक्छ ? भावनामा मात्र डुबुल्कि मारेर नयाँ नेपाल बन्ने त होईन होला । खोई व्यबहारवादी र वस्तुवादी बनेको ? कुनै व्यक्तिको नभएर नेपालीको साझा मान्छे बन्ने प्रयाश खोई ? नव सिर्जनाका लागि पद र पहुँच भएका मान्छेहरु खरो रुपमा उत्रन किन सक्दैनन् ? आखिर विश्व इतिहासले यस्ता प्रकृति र स्वभावका मान्छेहरु अन्यत्र त जन्माएकै देखाउँछ । दशकौं देखिका यि अनुत्तरित प्रश्नहरुले हामी नेपालीलाई सताईरहेकाछन् । यसै सन्दर्भमा यहाँ केही टिपनटापनहरु पस्कने जमर्को गरेकोछु ।
२३ जेठ २०७२ को कुरा हो म सहित केही साथीहरु एपिएफको हलचोक मैदानमा कलाकार र नेताबीचको फुटबल खेल हेर्न गयौं । अरु धेरैलाई म चिन्दैनथे । दर्शकलाई टिकट फोर्स सेल थियो भिआईपी तिर पाँचहजार र सामान्यतिर एकहजार रुपियाँको । एक करोडसम्म जम्मा गरेर भूकम्प पीडितलाई सहयोग गर्ने लक्षका साथ नयाँपत्रिका दैनिकले फुटबल खेलको आयोजना गरेको थियो । व्यवस्थापन असाध्य राम्रो थियो । शायद राष्ट्रपति डा. रामबरण यादवको उपस्थिति हुनेभएकाले पनि मेहनत गरिएको हुनुपर्छ । खेलमैदानलाई जति तामझाम र व्यवस्थित बनाईएको थियो खेल भने त्यत्तिकै झुर थियो । एकातिरको टिममा नाम चलेका कलाकार टिम क्याप्टन थिए भने अर्को तिर सेतो सर्टको बाहिर निलो हाफगन्जी र सेतै सुरुवालको बाहिर निलै हाफ पाईन्ट सिउरेर नेताहरुको टिम क्याप्टेन तत्कालीन प्रधानमन्त्री सुशील कोईराला खडा थिए । कोईरालालाई बल छुनै दिएनन् कलाकार खेलाडीहरुले । दौडदा दम बढ्ने र खेलको अभ्यास पनि नपुगेर होला बल आफूतिर आएको बेला खुट्टा उचाल्न भ्याए पनि बल छुन र सुट गर्न सकेनन् कोईरालाले । डिफेन्स राम्रो भएन । कोईरालाका टिमले पराजय भोग्नु पर्ने भयो । जीरोका विरुद्ध तीन गोलले कलाकारको टिमले विजय हासिल गयो । गोल मनराज श्रेष्ठ, रोशन श्रेष्ठ र नरेश केसीले गरेका थिए ।
हामी प्रधानमन्त्रीको साईडबाट हुटिङ गर्न डल्फिन कुर्चिमा घरि दायाँ घरि बाँया सर्दै फुटबलको रमाईलो हेर्दै थियौं । कलाकारको साईडमा बल जाला कि भनेर पर्खियौं तर दवाव प्रधानमन्त्री तिर नै थियो बल कलाकारतिर जान सकेन । बल कोईरालाको गोलपोष्टतिर लगातार आईरह्यो तर खेल मैदानको धुलोले दमका विरामी कोईराला पनि आजित भए त्यस्तैमा एक जना खेलाडीले उनलाई तपाई थाक्नु भयो म खेलौं कि भन्न के आएका थिए कोईरालाले हप्काएर पठाईदिए । उनी खेल्दै गए । खेल झुर थियो तर पनि खेलको परिणामको अपेक्षाले भन्दा पनि दर्शकलाई खेल मैदान भित्रको मनोरन्जनले खिचिरहेको थियो । कहिल्यै बल नछोएका नेताहरु । बल एकातिर खुट्टा अर्कोतिर कति पो हाँस्नु र । हाँस्दा हाँस्दा जीब्राको ठाउँमा आन्द्रा भूडि आउने हुन कि भन्ने डर ।
राजनैतिक रुपमा यस पटकको संविधानसभामा सबैभन्दा ठूलो पार्टीका अगुवा नेताले आजको टुर्नामेण्टमा गोल गरे भने संविधानसभामा पनि सजिलै गोल गर्न सक्छन् भन्ने हाम्रो अनुमान थियो । तर गोल गर्न सकेनन् । प्रधानमन्त्री गोलरहित भए पछि लाग्यो हावा भरिएर मुख बन्द गरिएको निर्जीव भकुण्डोलाई त गोलपोष्ट भित्र छिराउन सक्दैनन् भने मुख नसिलाईएका आरनेको खलाति जस्ता तुरुन्तै हावा तान्न र फाल्न सक्ने सजीव छ सय एकलाई संविधानसभाको गोलपोष्टमा कसरी डल्लो पारेर छिराउन सक्लान् ! भन्दै हामी हाँस्दै मुखामुख गरेर बस्यौं । च्यूडा र गालामा मरुभूमिमा बेमौसममा उम्रेका भूईघास जस्ता दारी अथवा जुम्ला विमानस्थल वरपर दिउसोको एक बजे पछि आद्रता नभएको बतासले सुके जस्ता कोईरालाका सेताम्य उर्जाहीन दारी र सोहोरिएको कन्चट । तर शारीरिक अवस्था त्यस्तो भएर पनि देश र जनताका लागि सेवा निरन्तरताको संकल्प । त्यही संकल्पको कारण भूकम्पका कारण दु:ख पाएका नेपाली जनताको भलाईका लागि केही गर्न सकिन्छ कि भन्ठानेर धुलाम्य मैदानमा उभिन पुगेका होलान् प्रधानमन्त्री कोईराला । उनी अठोट र भिजनका धनी नेता जस्तो लाग्यो । उनको शाहस देखेर गौरब पनि लाग्यो । लाग्यो यस्तै नेता अरु पनि भएको भए नेपालमा केही हुन सक्थ्यो होला । कुनै व्यक्तिको छनोटमा अमुक व्यक्ति नै पर्नुपर्छ भन्ने छैन । तर मूल्याङ्कन इमान्दारितामा आधारित हुनुपर्छ । यस्तै अठोट भएका नेता भए आम नेपालीको चिन्ताभित्रका समस्या हट्न सक्थे होला ममा विश्वास भरियो । शरीरले निषेध गरेपनि दर्शकमाझ खेलका आधारमा फुटबलको स्वरबर्ण र व्यञ्जनबर्ण नछिचोले जस्तो प्रमाणित भएर हाँसोको पात्र जस्ता देखिए पनि जनता सबै कुरा हुन् भनेर उनैका लागि समर्पित हुन तल्लिन नेता कोईराला र आम दर्शकका लागि जीतको अर्थ भन्दा पनि उनको सहभागिताको महत्व देखिन्थ्यो । यहाँ उनलाई प्रतिनिधि पात्र मात्र बनाईएको हो ।
दर्शकले खचाखच भरिएको खेलमैदानबाट कति रकम उठ्यो त्यो कुरा हामी दर्शकलाई थाह हुने कुरा भएन तर पनि केहीनकेही रकम त उठ्यो र भूकम्प पीडितका लागि कोषबृद्धि भयो होला । ब्यस्त तर अशक्त कोईरालाले सबै कुरालाई भुलेर मुलुक र जनताको हितका लागि फूटबल मैदानमा भिड्न पुग्नु सानोतिनो कुरा होईन । नब्बे मिनेटको खेलले केही पीडितलाई राम्रै राहत दिन सक्थ्यो होला, पीडितले पाए पनि होलान् । हुनत परिश्रममा होईन परिक्रमामा विश्वास गर्ने नेपाली नेतामाझ पीडितको मूल्य कति हुँदोरहेछ सबैले बुझेकै कुरा हो । भूकम्प पीडित त के त्यो भन्दा एक बर्ष पुराना बाढी पीडितले पनि राहत पाउन सकेका छैनन् । तरपनि विश्वका कतिपय पप गायक, लोक गायक, फूटबल र यस्तै अन्य खेलहरु, चलचित्र पद्रर्शन के के भएका छैनन् र रोग, भोक र प्राकृतिक प्रकोपबाट पीडितहरुका लागि । नयाँपत्रिकाले पनि राम्रै तरिकाले परम्परा धान्ने साहस गर्यो ढिलै भए पनि साधुवाद छ नयाँ पत्रिका परिवारलाई ।
यो साधुवाद पछि नेपाली जनताको अथक संघर्षको परीणामबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रले हलचोकलाई छुन नसकेकोमा दुख पनि लाग्यो । अहिलेको हलचोक पहिलेको राजतन्त्रकै पुरानो धङधङीबाट मुक्त हुनसकेको रहेनछ । राष्ट्रपति डा. रामबरण यादव प्रमुख अतिथिका रुपमा आउने नाममा गेट निकै बेरसम्म खुलेन हामी घण्टाबढी गेट बाहिर खडा भयौं । दर्शकलाई पहिले नै भित्र पठाएको भए पनि त हुन्थ्यो । सडक किनारमा धुँवा र धुलोबाट सेकिएर उभियौं । एक मन त डेरा तिर फर्किउकि जस्तो पनि लाग्यो तर काठमाण्डौको त्यतिलामो जाम छिचोलेर त्यहाँ पुगिसकेपछि फर्कन मन लागेन । एक जनाको स्वागतका लागि हजारौंलाई पीडा दिने परम्परावादी चलनको किन चिरफार गर्न सक्दैनन् जनताको छोरो हुँ भन्न रुचाउने हाम्रा राजनीतिक नायकहरु । पदमा नहुँदा आदर्श ओकल्ने र पद पाए पछि सबै कुरा बिर्सने बानीमा सुधार कहिले होला नेताहरुमा ? अनि सबै कुरा बिर्सिएर देश र जनताका लागि कडा मेहेनत गर्ने सोच कहिले आउला नेताहरुमा !
प्रशङ्ग फेरि खेल कै । जीत मात्रै सबै कुरा रहेनछ, त्यो खेलमा नेताहरुको पराजय भए पनि आखिर भूकम्प पीडितहरुका लागि केही न केही रकम त संकलन भयो । इच्छाशक्ति र अठोट सबैभन्दा ठूलो कुरा रहेछ । अशक्त कोईराला छातीमा दम र निमोनिया अनि आमाशयमा क्यान्सर पालेर पनि देश जनताको हितका लागि केही गर्न सकिएन भनेर निरुत्साहित भएनन् । फूटबल खेलेरै छोडे । यो मैले प्रेरक प्रशङ्गको रुपमा मात्र लिएको हुँ । यत्तिकै भए पनि नेताहरुमा जनताप्रति उत्तरदायी हुने भावना जाग्रत भयो भने नेपाल बन्न धेरै दिन त लाग्दैनथ्यो होला जस्तो पनि लाग्यो ।
फूटबलमा हारे पनि कोईरालाले संविधानसभामा अभूतपूर्व सफलता प्राप्त गरे । संविधान पारित भयो तर संविधान बनाएर मात्र नेपालमा केही हुनेवाला रहेनछ । संविधान कार्यान्वयन र त्यसपछि पनि यहाँ धेरै कुरा गर्न बाँकि छन् । नेपाली जनताको आर्थिक स्थिति उचो बनाउन कुनै कुराको थालनी नै भएको छैन । रेमिटान्समा मुलुक चलेकोछ । रोजगारीको अवसर छैन । भएका उद्योग धन्दा बन्द हुँदैछन् नयाँ खुल्ने सम्भावना छैन । देशका अब्बल जनशक्ति यूवाहरु विदेश पलायन हुँदैछन् । हडताल र बन्दले जनता आक्रान्त छन् । सियोदेखि हवाईजहाज र कोदो मकै, फापर, नुन, खुर्सानी, लसुन, धनिया, प्याज बाहिरबाट आउँछ आफ्नो उत्पादन छैन । मान्छे मात्र नेपाली लाज ढाक्नेदेखि पेट भर्ने सबै विदेशी चीज । कुनै विदेशीले तपाईको देशको खास उत्पादन केहो भनेर सोध्यो भने शिर निहुराउनु पर्ने केही जवाफ छैन । हाम्रो नेपालको सचित्र रुप यही हो । नेपालसंगै राजनीतिक रुपमा स्वतन्त्र भएका मुलुकहरु आर्थिक विकासका हिसावले विश्वमा अग्रपंतिमा आईसके हामी भने जहाँको तही छौं । राणाहरुको निरंकुश शासन सन् १९५१ मा पन्छिएयो नेपालबाट । त्यही १९५० को दशकमा निरंकुश शासन वा परतन्त्रको पीडाबाट मुक्त भएका नेपाल बाहेकका अन्य मुलुकहरुले के के गरेनन् र !
सन् १९६० मा सैनिक कु मार्फत सत्तामा आएका दक्षिण कोरियाका राष्ट्रपति पार्क चुन हिले कोरियामा आर्थिक चमत्कार नै गरे । यद्यपी प्रारम्भमा सैनिक शासनको विरोध सर्वत्र भयो । त्यतिखेरको उनको चमत्कारका कारण नै कोरियाको अहिलेको प्रतिव्यक्ति आय ३ हजार २ सय डलर भएकोछ । यहाँ सत्ता सैनिकको हातमा गयो भने आर्थिक प्रगति हुन्छ भन्ने होईन र लोकतन्त्रको शत्रुको रुपमा रहेको सैनिक शासन र अधिनायकवादी शासनको प्रतिक्षा गर्नु भनेको आफ्नै खुट्टामा आफैं बन्चरो हान्नु हो । कुनै व्यक्ति सत्तामा आउनुको आधारको खोजीमा अल्मलिनु भन्दा पनि उसको उद्धेश्य र प्रतिवद्धता के हो त्यो महत्वपूर्ण मानिन्छ । कोरियामा त्यो प्रतिवद्धताको नाम नै पार्क चुन हि बने भने नेपालमा त्यस्तो अठोट गर्नसक्ने सैनिक नै किन ! गैरसैनिक मान्छे कोही छैन ?
फ्रान्समा उच्च शिक्षा आर्जन गरेका चीनका देङ सियाओ पीङ माओको मृत्युपछि पाँच दिने फ्रान्सको भ्रमणमा निस्किए । उनीसँग गएका चिनीया अधिकारीले त्यहाँ बिभिन्न बिषयको गहन अध्ययन गरेर स्वदेश फर्किए । सन् १९८० मा नेपालको प्रतिव्यक्ति आय २६५ र चीनको प्रतिव्यक्ति आय नेपालको भन्दा पनि कम जम्मा २५० मात्र थियो । चीनले सन् १९७८ मा आर्थिक विकासका लागि १० बर्षे रणनीति तयार गर्यो । जे जति आर्थिक विकासका अवरोधहरु थिए उसले पन्छाउदै गयो । रणनीति तयार गरेको २२ बर्षमा चीनले आर्थिक विकासमा निकै ठूलो फड्को मार्यो । आर्थिक दृष्टिले चीन अहिले विश्वकै अग्रपंतिमा आईसक्यो । अठोट, धैर्यता, लगन र प्रतिवद्धता भएपछि के हुदैन र ? जे पनि हुन्छ तर खोई नेपालमा !
भारतका तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहले अन्तरराष्ट्रिय मुद्राकोषमा कार्यरत अर्थशास्त्री रधुराम राजनलाई केन्द्रीय बैंक हेर्ने जिम्मेवारी नदिएको भए भीमकाय जनसंख्या र भूभाग भएको भारतको आर्थिक विकास कहाँ सम्भव थियो र । नरेन्द्र मोदीले पनि कोलम्बिया विश्वविद्यालयका एकजना प्राध्यापकलाई बोलाएर राष्ट्रिय नीति आयोगको जिम्मेवारी दिएर भारतलाई सजीवता प्रदान गर्ने कोसिश गर्दै छन् । मुलुक बनाउन भीडको भन्दा पनि एउटा एउटा व्यक्तिको पनि महत्व हुँदोरहेछ । हामी पलायन भएका क्षमताशील नेपालीलाई किन आकर्षण गर्न सक्दैनौं ?
उता दोस्रो विश्वयुद्धमा तहसनहस भएको जापान सानो तपस्याबाट अहिलेको अवस्थामा रुपान्तरित भएको होईन । तीस बर्ष मुनीका करीव एकसय जना यूवाहरु अमेरिका र यूरोपले कसरी आर्थिक विकास गरेका रहेछन् भन्ने जानकारी लिन जापानबाट बाहिर निस्के । उनीहरुले अमेरिकामा साना ठूला उद्योगधन्दा र संघसंस्थाहरु कसरी चलेकाछन् आदि कुराको अध्ययन गरेर जापान फर्किए । सन् १८७१ देखि १८७३ सम्म विदेशको अध्ययन गरेर उनीहरुले सिकेका कुरा जापानको हितमा प्रयोग गरे । जापानले आन्तरिक विकासका लागि बाहिरबाट नै त सिकेको रहेछ । अनि हामी किन अल्मलिने ?
जापान र चीन दुवैले यूवा वर्गको परिचालन यसरी नगरेर देश भित्रै रुमल्लिएको भए यति छिटो आर्थिक विकास तथा प्रगति गर्ने थिएनन् होला ? भारतले विदेश पलायन भएका बुद्धिजीवीहरुलाई स्वदेशमा ठाउँ नदिएको भए आर्थिक विकासको खाका कोरिन्थ्यो र ? नेपालले पनि देश र जनताप्रति उत्तरदायी र रचनात्मक सोच भएका यूवा वर्गलाई विदेशमा चीन र जापानले झैं अध्ययन गर्न नपठाएसम्म नेपालको उन्नति सम्भव देखिदैन । राम्रा कुराको अनुकरण गर्दा के हुन्छ ?
सन् १९७३ मा चिलीका समाजवादी राष्ट्रपति एलेन्द्रलाई कु गर्दै सत्तामा पुगेका सैनिक शासक पिनासोले मुलुकको आर्थिक समृद्धिमा बल पुर्याए । उनले सिकागो विश्वविद्यालयका नोवेल पुरस्कार विजेता अमेरिकी प्राध्यापक मिल्टन फ्रायडम्यानको सहयोगमा एक सय बढी चिली यूवाहरुलाई पढ्न पठाए । टावार्ड, एमआईटी विश्वविद्यालयहरुमा अध्ययन गरेर फर्के पछि उनीहरुलाई आवश्यकतानुसार उद्योग, श्रम, योजना लगायतका मन्त्रालयमा मन्त्री बनाईयो । कसैलाई केन्द्रीय बैंकको गभर्नर बनाईयो । अहिले त्यहाँ प्रतिव्यक्ति २३ हजार अमेरिकी डलर छ । यसलाई सिकागो व्वाईज मोडेल भनिन्छ । त्यस्तै मोडेलको खोजी हामीले किन नगर्ने ?
सिंगापुरका लि क्वान यू ले देशलाई स्वतन्त्र गरे । उनले मैले यो देशलाई स्वतन्त्र बनाए मैले यो भन्दा बढी के गर्ने भनेर हात बाँधेर बसेको भए सिंगापुर अहिलेको जस्तो सिंगापुर बन्दैनथ्यो । उनले सडकमा थुक्ने मान्छेलाई पनि समातेर जेलमा थुनेर राखे । प्रशासन र सर्वसाधारण जनतालाई कडा अनुशासनमा राखे । प्रारम्भमा सडकमा पनि थुक्न नपाईने भए कहाँ थुक्ने त भनेर पक्रिएका मान्छेले आक्रोस व्यक्त गरे पनि अन्तत्वगत्वा सिंगापुर दिनदिनै सुन्दर बन्दै गयो, सुन्दरता संगै मानिसहरुको परम्परागत सोच, मूल्य मान्यतामा पनि परिवर्तन हुँदै गयो र सडकमा थुक्यो भने हामी नै रोगी हुँदारहेछौं भन्ने चेतनाको विकास पनि भयो । सिंगापुरको विकास त्यही चेतनाको प्रतिफल हो स्वतन्त्रतासंगै विकास र उन्नति सित्तै आएको होईन । लि क्वान यूको सिंगापुरको नवनिर्माणमा ठूलो लगानी छ । नेपालीहरु लि क्वान यू बन्न किन नसक्ने ? कोही त जाग !
नेपालका विश्वविद्यालयहरुलाई पनि हर्वर्ड, क्याम्ब्रीज, अक्सफोर्ड, डुरहम जस्ता विश्वविद्यालयहरुको मोडालिटी दिएर छोटो अवधिमा नै शैक्षिक उन्नति गर्न सकिन्छ । विशेष क्षेत्रको ज्ञान र विशिष्टता प्राप्त गरेका जनशक्तिलाई छोटो अवधिको विदेश भ्रमण बाहेक सधैंका लागि पलायन हुने काममा रोक लगाईयो र स्वदेशमा नै बसेर काम गर्ने वातावरण बनाउन सकियो भने नेपालको उन्नति सम्भव छ । देश हाक्नसक्ने नवप्रतिभाहरुलाई राष्ट्र विकासमा जति दोहण गर्नसक्यो त्यति नै मुलुकको भौतिक प्रगति सम्भव छ भन्ने कुरा किन नबुझ्ने ।
नेपालमा औकातभन्दा धेरै बोल्ने तर काम भने पटक्कै नगर्ने प्रबृतिको विकास भएकोछ । घाँटी नहेरी हाड निल्ने चाहे घाँटी नै किन नच्यातियोसको रोग नेपालमा व्याप्त छ । के.पी. शर्मा ओली एमालेका अरु नेताभन्दा बढी राष्ट्रवादी नै हुन त्यो कुरा म पनि स्विकार गर्छु तर उनी बढी बोलेर बिग्रिए । उनी बोल्दै गए अझै बोल्दै गए तर बोलेका कुरा कार्यान्वयन गर्ने बजेट सहितको कार्यक्रम ल्याउन सकेनन् । बोलेका कुरा राम्रा भएर पनि हाँसोमा उडाईयो, तिनैकुरा उनका लागि घातक सावित भए । हिन्दीमा एउटा भनाईछ—मेरी औकात से बढकर मुझे कुछ न देना मेरे मालिक क्यों कि जरुरत से ज्यादा रोशनी भी ईंन्सानको अन्धा बनादेती है । औकात भुल्नु हुदैन । विडम्बना हामी हाम्रो औकात पदमा जाने वित्तिकै बिर्सन्छौं । राम्रोभन्दा हाम्रो मान्छे विदेश पठाउन लालयित हुन्छौं । भूकम्प पीडितका नाममा मन्त्री र सचिवका आफ्ना मान्छे चीन गए । यूवा भनेको एउटा अमुक पार्टीका मात्रै हुन्छन् अरु पार्टीका यूवा जती सबै केटाकेटी मान्ने नेपालले कहिले प्रगति गर्नसक्छ र ! योग्यलाई अयोग्य बनाईने र हैसियत नपुगेका र अयोग्यलाई जबरजस्ती योग्य बनाईने नेपाली परम्परा नै बनेकोछ । यो गलत परम्पराले व्यक्तिलाई होईन नेपाललाई नै आँखा देख्ननसक्ने बनाउन थालेकोछ । नेपाली जनता त मात्र हलचोकका दर्शक जस्तै हुन । हसाईदिए हाँस्ने, रिसाईदिए डराउने, बाहिर उभ्याईदिए बाहिर उभिने भित्र उभ्याईदिए भित्र उभिने, अर्काले विजय पाए ताली बजाईदिने र अर्काको उन्नतिमा रमेर बस्ने तर आफ्नो पीडा र कुण्ठालाई भाग्य ठान्ने । अब सुशील कोईरालाको जत्तिकै भए पनि कोही शरीरको परवाह नगरेर खट्न सक्ने र नेपाल र नेपाली जनताको हित गर्न तत्पर हुने कि नहुने ? नेपालीको हित नहुँदासम्म विदेशीको फोटोमा फूल चढाएर मात्र केही हुनेवाला छैन । नेपाल र नेपालीप्रति सोझो हुन सिकौं र नेपाललाई समृद्धिको बाटोमा लैजान धेरै नसके मात्रात्मक रुपमा सानै भए नयाँ कामको सुरुवात गरौं ।
प्रकाशित मिति: ७ भाद्र २०७३, मंगलवार ०८:३७