रत्ननगर (चितवन), ६ भदौ । चितवनमा ‘रुट परमिट’विनै र एकठाउँको ‘परमिट’ लिएर अर्काे ठाउँमा गाडी सञ्चालन भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार परमिट विना नै गाडी चलाइएको पाइएपछि कारबाही थालिएको छ ।
पर्यटक बोक्ने भनेर अनुमति लिएका गाडीले समेत अन्य यात्रुलाई चढाउने गरेको भेटिएपछि प्रहरीले यस्ता गाडीको समेत निगरानी थालेको प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिए ।
ट्राफिक प्रहरी कार्यालय चितवनले रुट परमिट विना नै यातायात सञ्चालन गरेको पाइएपछि यस्ता गाडी सञ्चालनमा रोक लगाएको हो ।
जिल्लामा अभियान नै चलाएर अनुमति नलिएका गाडी सञ्चालनमा रोक लगाइएको र कारबाहीसमेत थालिएको भेटवालले जानकारी दिए । उनका अनुसार दक्षिण चितवनको माडी क्षेत्र भएर चल्ने माडी ठोरी हुलाकी सडकका गाडी कार्वाहीबाट बढी प्रभावित भएका छन् ।
जिल्लामा अहिलेसम्म ४४ वटा गाडीलाई अहिले कारबाही गरिसकिएको छ र अभियान अझै जारी छ ।
भेटवालका अनुसार अनुमति नभएकालाई मात्र होइन, विदेशी पर्यटक बोक्ने भनेर स्वदेशी बोकेका तथा एउटा क्षेत्रमा परमिट लिएर अर्का क्षेत्रमा चलाइएका गाडीलाई समेत कारबाही थालिएको छ ।
सरकारले पर्यटक बस भनेर विदेशी बोक्नका लागि भन्सारदर नै घटाएको हुन्छ । यसरी छुटमा गाडी ल्याएर अन्य सर्वसाधारण मान्छे बोक्न नपाइने भेटवाल बताउँछन् ।
चितवनका ग्रामीण क्षेत्र माडीसँगै जगतपुर, मेघौली, शक्तिखोर, देवघाटलगायत क्षेत्रमा यातायात सेवा अनुमति विना नै सञ्चालन हुँदै आएको छ । मुख्य राजमार्गमा चल्ने गाडीको मात्रै ‘परमिट’ छ ।
यातायात व्यवसायी हितमान गुरुङ आफूहरुले पटक पटक अनुमति माग गरेको भए पनि सरकारले उपलब्ध गराउन ढिलाइ गरेको बताउँछन् । दक्षिण माडीमा वीरगन्जको अनुमति पाएका गाडी सञ्चालन हुँदै आएका छन् । कारबाही थालिएपछि अहिले ग्रामीण क्षेत्रमा गाडी सञ्चालन भएका छैनन् । रासस