हुम्ला, ६ भदौ । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा साउन ३० देखि भदौ ८ गतेसम्म विभिन्न गाविसका स्थानीय बासिन्दाले पुरानो सांस्कृतिक नाच, देउडा गीत, नृत्य गरेर साउने पूर्णिमा भव्य रुपमा मनाइरहेका छन् ।
हुम्लामा चामल अभावका कारण जौको अक्षता लगाएर यो पर्व मनाएका छन् । गत वर्षदेखि खाद्यान्न अभावले गर्दा अक्षता बनाउनसमेत चामलको अभाव भएको छ ।
मेला हेर्न सदरमुकाम सिमीकोटमा दार्मा, मैलादेखि माथिका मुचु गाविसका जनता ठूलो सङ्ख्यामा आएको गाविस सचिव एवम् अध्यक्ष धर्मराज रोकायाले जानकारी दिए । यो पर्वमा बालबच्चादेखि युवायुवती, बूढापाकासमेतको नाचगान गरी रमाइलो गर्ने गरिन्छ ।
स्वास्थ्य चौकीमा औषधि अभाव
सदरमुकामदेखि दक्षिणी भेगमा पर्ने स्वास्थ्य चौकी सर्केगाडमा औषधिको अभाव रहेको छ ।
स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएको सदरमुकाम आएका मानबहादुर थापाले बताए । स्वास्थ्य चौकीमा चिकित्सकसमेत नहुँदा बिरामी जिल्ला अस्पताल ल्याउन बाध्य भएको थापाले बताए ।
ज्येष्ठ नागरिकलाई कम्बल वितरण
हुम्ला ठेहे गाविसमा ७० वर्षदेखि माथिका ५५ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ ।
जिविसको आयोजनामा ज्येष्ठ नागरिकलाई सहयोग गरिएको ज्येष्ठ नागरिक समितिका सचिव अर्जुन बोहरा र भैरवबहादुर लामाले जानकारी दिए । रासस