भक्तपुर, ५ भदौ । बिनाविभागीय मन्त्री धनीराम पौडेलले जनमैत्री, प्रविधिमैत्री र सीपमूलक शिक्षाका लागि अगाडि बढ्नु आजको आवश्यकता रहेको बताएका छन् ।
आज पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले आयोजना गरेको पाठ्यक्रम दिवसमा बोल्दै उनले अहिले प्रविधिको युग भएकाले अब पाठ्यपुस्तक मोबाइल एवम् चिप्सबाट पढ्न सकिने व्यवस्था हुनुपर्ने बताए ।
केन्द्रले प्रविधिमैत्री पाठ्यपुस्तक निर्माणमा जुट्नु सकारात्मक रहेको बताउँदै उनले पाठ्यपुस्तकको अभावलाई टार्न पनि प्रविधिमैत्री पाठ्यक्रमको व्यवस्था हुनुपर्ने आँैल्याए । कार्यक्रममा उनले पाठ्यक्रम विकास केन्द्रको सिडिसि नेपाल (CDC Nepal) नामको एन्ड्रोइड एप्स पनि सार्वजनिक गरे ।
मन्त्री पौडेलले त्यस अवसरमा केन्द्रको शिक्षा पत्रिका र जीवनोपयोगी सीपमा आधारित पाठ्यक्रम र अक्षराङ्कन पद्धतिसम्बन्धी सात प्रदेशस्तरीय कार्यशाला (२०७३) को प्रतिवेदनको सँगालोसमेत सार्वजनिक गरे ।
कार्यक्रममा ‘पाठ्यक्रमः हिजो र आज’ वृत्तचित्र प्रदर्शनी पनि गरिएको थियो । मन्त्री पौडेलले केन्द्रका पूर्वप्रमुख गणेशबहादुर माली, जगन्नाथ अवा, अर्जुनबहादुर भण्डारी, लक्ष्मीप्रसाद खत्री, चित्रप्रसाद देवकोटा, खगराज बराल र दिवाकर ढुङ्गेललाई सम्मान गरेका थिए ।
त्यसैगरी, केन्द्रका दीर्घसेवी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारी गजेन्द्रलाल प्रधान, भगतसिंह वाग्दास, शम्भुप्रसाद दाहाल, आशाकाजी महर्जन, सुमित्रा अमात्य, बालकृष्ण अधिकारी, रवीन्द्र नेपालीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा शिक्षा मन्त्रालयका निमित्त सचिव डा डिल्लीराम रिमाल र सहसचिव अम्बिकाप्रसाद रिमालले केन्द्रले सार्वजनिक गरेको एन्ड्रोइड एप्सले शिक्षकदेखि विद्यार्थीसम्मलाई सजिलो बनाएको बताए ।
कार्यक्रममा एप्सका बारेमा जानकारी दिँदै केन्द्रका निर्देशक बाबुराम पौडेलले एप्सको उपयोगले केन्द्रबाट विकास भएका पाठ्यक्रम, पाठ्यपुस्तकलगायतका विभिन्न सामग्री सहजरुपमा विद्युतीय उपकरणबाट उपयोग गर्न सकिने बताए । एप्सका माध्यमबाट अब विश्वका कुनै पनि देशमा बसेर केन्द्रले विकास गरेको पाठ्यसामग्री हेर्न र पढ्न सकिने उनको भनाइ थियो ।
एप्सले अब पाठ्यपुस्तकको अभावमा पनि सिकाइसम्बन्धी कार्य गर्न सकिने बताउँदै निर्देशक पौडेलले पुस्तक अभावका बेलामा एन्ड्रोइड मोबाइलबाट हेर्न र पढ्न सकिने व्यवस्था गरेको चर्चा गरे । एप्समा हाल पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यक्रम गतिविधि, समाचार र पाठ्यक्रम विकास केन्द्रका सूचना हेर्न सकिने उनले बताए । रासस