जाजरकोट (रग्दा), ५ भदौ । सूचना तथा सञ्चारको विकास र विस्तारले विश्व एउटा सानो गाँउको रुपमा परिणत भएको छ । विश्वको एउटा कुनामा भएको घटना तत्कालै सवै ठाँउ थाह हुन्छ तर जाजरकोटका तीन यस्ता गाँउ छन् जहाँ नत रेडियो बज्छ नत टेलिफोन नै सुनिन्छ । जसका कारण त्यहाँ नागरिकले अहिलेसम्म पनि सञ्चारका कुनै साधन उपयोग गर्न पाएका छैनन् । जिल्लाको रग्दा गाँउ विकास समितिको रग्दा, रोली र चौखा गाँउमा न त टेलिफोनले काम गर्छ न त आमसञ्चारका कुनै साधनले काम गर्छन् । पत्रपत्रिका र टेलिभिजनको त कुरै छोडौ
ती गाँउमा रेडियोसम्म सुनिदैन ।
यी तीन गाँउमा एफएम रेडियोको पहुँच समेत छैन । रोलीका नरबहादुर ध्यारले भने, ‘एनटिसी, स्काई र एनसेल कुनै पनि फोनले काम गदैनन् ।’ फोन सुविधा नहुँदा यी गाँउका वासिन्दा निकै मर्कामा परेका छन् । टावर निर्माणका लागि राजनैतिक दलका नेता देखि सम्वन्धीत निकायमा अनुरोध गर्दा पनि सुनुवाई नभएको ध्यारले बताए ।
गत संविधान सभाको निर्वाचनमा काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका पार्टीका उम्मेदवारले यहाँको टेलिफोन समस्या समाधानका लागि टावर निर्माण गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता गरेका थिए ।
‘माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत गृहमन्त्रीसम्म भए तर उनले समेत फर्केर हेरेनन्’ रोलीकी माया रावतले भनिन् । चुनाव पछि कुनै पनि नेता यी गाँउ गएका छैनन् । रग्दा गाँउमा ६०, रोली गाँउमा ९१ र चौखा गाँउमा स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकी, खाद्य डिपो सहित ४५ घर छन् तर यी गाँउमा टेलिफोन र संचारका कुनै पनि साधनले काम नगर्दा स्थानीय समस्यामा परेका छन् ।
आन्तरिक सञ्चार देखि देश विदेशका खबर लिनबाट बञ्चित हुनु परेको चौखाका किशोर मल्लले बताए । ठुली भेरीको किनारमा रहेका ति गाँउको पाल्लोपट्टी रुकुमको गोतामकोटको ठुलो पहाड पर्छ भने यता पट्टी रग्दाकै ठुलो पहाड पर्छ, खोचमा भएकाले सञ्चारका कुनै पनि साधनले काम नगर्ने स्थानीयको भनाई छ । जाजरकोट डोल्पा सडक खण्डमा पर्ने सुन्दर गाँउमा सञ्चार सुविधाको विकास गर्न स्थानीयले माग गरेका छन् ।
प्रकाशित मिति: ५ भाद्र २०७३, आईतवार १७:३१