सुर्खेत, ५ भदौ । सामान्यतया सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरुको सम्मानमा निर्माण गरिने सालिक र त्यसैलाई आधार बनाई विभिन्न स्थानहरुको चोकको नामाकरण गर्ने चलन छ । तर सुर्खेतमा भने त्यो आधार मानेर चोकहरुको नामाकरण गरिएको पाइदैंन ।
बाँकेको नेपालगन्जमा पुष्पलाल चोकमा पुष्पलालको सालिक, वीपी चोकमा वीपीको सालिक, सेतु विक चोकमा सेतु विकको सालिका बनाइएका छन् । सालिकका आधारमा चोकहरुको नामाकरण गर्दा सार्थक र औचित्य पनि झल्कन्छ । तर सुर्खेतको वीरेन्द्रनगरमा भने सालिक विनाका चोकहरु रहेका छन् ।
बजारको मुख्य केन्द्रविन्दु मानिएको वीरेन्द्र चोकमा केही वर्ष पहिलेसम्म तत्कालीन राजा वीरेन्द्रको सालिक थियो तर माओवादी कार्यकर्ताहरु तोडफोड गरेपछि अहिले सालिक विनाको चोकमा परिणत भएको छ । वीरेन्द्रनगर नगरपालिकाले सो चोकलाई शहीद चोकको नामाकरण गरेपनि प्रचलनमा भने आएको छैन । धेरैले वीरेन्द्रचोकलाई नै मान्यता दिएका छन् । यस्तै बजारको माथिल्लो भागमा रहेको क्षेत्र गणेश चोक हो ।
तर त्यहाँ गणेशको कुनै सालिक छैन । मन्दिरहरु बढी रहेको सो क्षेत्रमा भगवान गणेशको नामबाट उक्त चोकको नामाकरण गरिएको बताइन्छ । यस्तै बजारको प्रवेशद्वार मानिने मंगलगढी चोक हो । केहीले वीपी चोक भनेपनि जनजिब्रोमा मंगलगढी चोक नै भन्ने गरिन्छ । पुरातात्विक क्षेत्र भएकोले त्यसलाई मंगलगढी चोक भनिएको हुनसक्ने मानिन्छ । यरी चोकलाई वुद्ध चोक पनि भन्ने गरिन्छ । त्यस क्षेत्रमा न यरी न बुद्धको सालिक छ । नगर क्षेत्रभित्र रहेका चोकहरु सवै सालिक विनाका छन् । चोकहरुको नामाकरण गर्दा सालिक भएमा सार्थक र थप सान्दर्भिक झल्कने वीरेन्द्रनगर नगरपालिकाको मान्यता छ ।
नगरपालिकाका बरिष्ठ प्रशासन अधिकृत प्रकाश पौडेलले सार्वजनिक जीवनमा योगदान दिएका व्यक्तिहरुको सम्मानमा सालिकहरु निर्माण गरी चोकको नामाकरण गर्न सकिए साँन्दर्भिकता हुने जनाए । तर विभिन्न कारणबस त्यसो हुन नसकेको उनको भनाइ छ । नगरपालिकाले पहिलेदेखि नै जहाँ जे नाम छ, त्यसैका आधारमा चोकको नामाकरण गरिएको पौडेलले बताए ।
चोकको नामाकरणमा कुनै असन्तुष्टि भए ३५ दिनभित्र उजुरी गर्न आव्हान गरिएपनि कुनै उजुरी नआएपछि जे नाम छ, त्यसैबाट नामाकरण गरिएको उनको भनाइ छ । धमला चोक, शंकर चोक, सिम्ताली चोक, कालुन्चोक लगायत धेरै चोकहरुमा कुनै उजुरी आएन, त्यसैलाई नै मान्यता दिइएको छ,’ उनले भने ।
वीरेन्द्र चोकलाई शहीद चोक नामाकरण गरेपनि प्रचलनमा वीरेन्द्रचोक नै भएको उनले जनाए । नगरपालिकाले केही समय अघि नगरभित्रका ३६ वटा चोकलाई मान्यता दिइ पास गरेको छ । चोकहरुमा सालिक निर्माण गर्न सकिने नयाँ आगन्तुकहरुले पनि बुझ्न र महत्व जान्न पाउने भएपनि सुर्खेतमा त्यो चलन अझै बन्न सकेको छैन ।
प्रकाशित मिति: ५ भाद्र २०७३, आईतवार १६:४०