अष्ट्रेलिया, ५ भदौ । युएनइको आयोजनामा अस्ट्रेलियाको सीड्नीमा आयोजना भएको एक भब्य समारोहमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै प्रमेज श्रेष्ठ र रुषा राखी बरालले इनोभेटिभ मिस्टर एन्ड मिस नेपाल ओसेनियाको उपाधि जितेका छन् ।
युएनइको आयोजनामा भएको इनोभेटिभ मिस्टर एन्ड मिस ओसनियामा प्रमेज र रुजाले सुन्दरतासँगै प्रतिभा र कलाकौशलताले प्रतिस्पर्धामा आफुहरुलाई अब्बल ठहराएका थिए ।
प्रतिभा प्रस्फुटनको माध्यम बनेको मिस्टर एन्ड मिस नेपाल ओसनीयामा अस्ट्रेलिया तथा न्युजिल्यान्डवाट सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य आकर्षकका रुपमा जजको भुमिकामा मिस नेपाल अस्मी श्रेष्ठ, गोपाल कक्षपती, नयाक आर्यन सिग्देल,फेसन डिजाइनर तेन्जिङ भुटिया रहेका थिए ।
भोटिङ तथा सौन्दर्यता अनि प्रतिभा प्रर्दशनलाई मुख्य आधार बनाएर प्रवासमा क्षेत्रियतबरले गरिएको यो मिस नेपाल प्रतियोगितामा प्रमेजले उच्च मनोबल र दरीलो आत्मबिश्वासका साथ आफ्ना गहकिला धारणा मार्फत जजहरको मन जितेका थिए ।
प्रतिस्पर्धाको आकर्षणका रुपमा रहेका अन्य बिधाहरुमा भने मन्जिल निरौलाले मिस्टर ओसनियाको फस्ट रनर अपको उपाधि उचाले भने मिसतर्फ रोशना पोखरेलले दोस्रो स्थान हात पारिन । सेकेन्ड रनरअपमा मिस्टरतर्फ सन्जय पराजुली र मिसतर्फ रीचा थापा घोषित भए । रीचाले न्युजिल्यान्डकोतर्फवाट प्रतिस्पर्धामा सहभागिता जनाएकी थिइन ।
प्रतिस्पर्धाका अन्य विधाहरुमा मिस्टर एएनएइ र मिस युएनएइमा प्रमेज श्रेष्ठ र प्रेक्षा अधिकारी मिस्टर ट्यालेन्टमा आशिष भुर्तेल तथा मिस ट्यालेन्टमा अनुजा शर्मा, फोटोजेनिकमा असीम श्रेष्ठ र रोशना पोखरेल, क्याटवाकमा उपेन्द्र अर्याल र समि श्रेष्ठ तथा कस्ट्युममा सन्जय पराजुली तथा रिजु खड्काले उपाधि जितेका छन् ।
प्रतिस्पर्धामा विजयी मिस ओसनियाले मिस नेपालमा सिधै प्रतिस्पर्धा गर्न पाउने अवसर प्राप्त गर्ने आयोजक युएनएइकी अध्यक्ष भुमादेबी लिम्बुले बताइन् । विदेशमा रहेका युवा वर्गलाई उनिहरुको प्रतिभा प्रस्फुटन र अतिरिक्त क्रियाकलापका लागि यस्ता प्रतिस्पर्धाहरु महत्वपूर्ण रहने आयोजकमध्येका एक समिम अनवरले सुनाए ।
प्रतियोगिताका विजेताहरुलाई प्रायोजककातर्फवाट एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल, एनएडिएफका अध्यक्ष विवेक थापा, जनसम्पर्क समितीका संस्थापक दिनेश जोशी, एनआरएनका पूर्व अध्यक्ष गोवा कटुवाललगायतले ट्रफी तथा उपाधि प्रदान गरेका थिए ।
प्रकाशित मिति: ५ भाद्र २०७३, आईतवार १६:२०