जाजरकोट, ४ भदौ । जाजरकोटमा छोराले आफुलाई जन्मदिने आमाको हत्या गरेका छन् । सल्ला गाविस १ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीया आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।
जग्गा सम्वन्धी विवाद भएपछि छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । हत्या अभियोगमा पक्राउ परेका बुद्धिबहादुरले प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी समक्ष अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।
साउन २२ गते नै आमाको हत्या गरी खाडलमा गाडेको बयान खत्रीले दिएपछि घटनानस्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खत्रीले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदन समेत दिएपछि छानवीन गर्दा घटनाको रहस्योद्घाटन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहोराले बताए ।
शुक्रवार स्थानीय वासिन्दाले दिएको सूचनाको आधारमा खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि वढाएको हो । प्रारम्भिक बयानको क्रममा खत्रीले जग्गा सम्वन्धी विवाद हुँदा आमाको हत्या गरी खाडलमा गाडेको स्वीकारेको प्रहरी निरीक्षक बोहोराले जानकारी दिए ।
खत्रीले दिएको बयानको आधारमा खाडल खनेर उत्खनन गरेपछि मात्रै वास्तविकता वाहिर आउने प्रहरी निरीक्षक वोहोराले उल्लेख गरे ।
आमा हराएको भनेपछि गाउँले र प्रहरीले खत्रीमाथि आशंका गर्दै निगरानी गरेको पनि उनँले जानकारी दिए ।
आमाले गत असार १३/१४ गते बुवाको नाममा रहेको जग्गा आफनो नाममा पास गरेपछि श्रीमतिको उक्साहटमा आएर आमाको हत्या गरेको बयान खत्रीले दिएको प्रहरीको भनाई छ ।
घटनाको विस्तृत अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा ५ जनाको अनुसन्धान टोली घटनास्थल सक्लाको लैखमतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्ला प्रंहरी कार्यालयवाट गएको प्रहरी टोली शनिवार दिउसो २ बजेतिर पुग्ने र त्यसपछि खाडलको उत्खनन गरी अनुसन्धान अघि वढाउने प्रहरी निरिक्षक बोहराले जानकारी दिए ।
प्रकाशित मिति: ४ भाद्र २०७३, शनिबार १२:२९