पोखरा, ३ भदौ । राष्ट्रिय फोटो पत्रकार समूह कास्कीद्वारा १७७ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज यहाँ आयोजित ‘फोटो पत्रकारिताको महत्व र चुनौती’ विषयको अन्तक्र्रियामा फोटो पत्रकारको बिमा हुनुपर्नेमा जोड दिइएको छ ।
फोटो खिंच्ने क्यामेराको बिमा हुने तर क्यामेरा चलाउने पत्रकारको भने बिमा नहुनु दुःखद् कभएको औँल्याउँदै अन्तक्र्रियाका वक्ताले पत्रकारितामा फोटोको महत्वसँगै चुनौती बढ्दै गएको भन्दै पत्रकारको बिमा गरिनुपर्ने माग गरे ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सञ्चार गृह सञ्चालकले लाखौँ रुपैयाँ लगानी गरेर सञ्चारमाध्यम सञ्चालन गरे पनि धेरैले अझै पनि फोटो पत्रकारिताको महत्व बुझ्न नसकेको बताए । पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेलले फोटो पत्रकारिताको महत्व बढ्दै गएकै कारण यो एउटा छुट्टै बिटका रुपमा स्थापित भएको बताए ।
गोरखापत्र संस्थानका सञ्चालक सदस्य नवराज सुवेदीले राज्यबाट सञ्चालित छापा सञ्चारमाध्यमले तस्बिरलाई आफ्नो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले फोटो पत्रकारितालाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह कास्कीका उपाध्यक्ष इन्द्र पौडेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य श्यामनाथ कुँवर, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, राष्ट्रिय फोटो पत्रकार समूह कास्कीका पूर्वअध्यक्ष कृष्णमणि बराल र सल्लाहकार प्रदीप पौडेल, पोखरा फोटोग्राफर सङ्घका अध्यक्ष तुलसीराम सुवेदी, नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देल, पत्रकार भीम घिमिरे, सन्तोष पोखरेल, नारायण शाही लगायतले फोटो पत्रकारको बिमाका लागि राज्यलाई झकझक्याउनुपर्नेमा जोड दिए ।
सन् १८३९ अक्टोबर १९ देखि विश्वमा फोटोग्राफी दिवस मनाउन थालिए पनि नेपालमा भने नेपालमा १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक समाचारमूलक तस्बिर छापिएको दिनलाई मनाउने गरिएको छ । रासस