जुम्ला, ३ भदौ ।
सूचनाको हकको प्रभावकारिताका बारेमा समुदाय स्तरसम्म सचेतना प्रदान गर्न सूचनाको हक कार्यान्वयन अभियान थालिएको छ । कुन सूचना, कसरी दिने र सूचना लिने दिने प्राव्धानका बारेमा जानकारी दिनको लागि अभियान थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा एक कार्यक्रमको आयोजना गरेर सूचनाको हक कार्यान्वयनको लागि अभियान थालिएको हो । अभियानको पहिलो दिन शुक्रबार जिल्लास्थित सरकारी कार्यालयहरुको नागरिक वडापत्र संगालो सार्वजनिक गरिएको छ ।
नेपाली सेना वाहेक जिल्ला स्थित सबै कार्यालयहरुको वडापत्र सार्वजनिक गरिएको प्रमुख जिल्ल अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार सूचना अधिकारीको नामावली सार्वजनिक गरी काम कर्तव्य र अधिकारका वारेमा सहजिकरण गरिएको छ । भदौ ३ गतेलाई राष्ट्रिय सूचना आयोगबाट सूचनाको हक दिवसका रुपमा मनाउने परिपत्र आए बमोजिम जुम्लामा यस्तो अभियान थालिएको हो ।
प्रमुख जिल्ल अधिकारी पण्डितले सूचना माग्ने र दिने सूचनाको ढाँचाका बारेमा समेत जानकारी हासिल गर्न सूचना अधिकारीलाई निर्देशन दिए । उनले प्रत्येक कार्यालयमा भइरहेको कामको सम्वन्धीत कार्यालयको सूचना अधिकारीले अनिवार्य जानकारी हासिल गर्नु पर्ने र सरोकारवाला निकायलाई सहजै रुपमा उपलव्ध गराउन सक्नु पर्ने बताए । कार्यालयमा भइरहेका गतिविधि हरेक ३ तीन/तीन महिनामा सार्वजनिक गर्न भनेका छन् । गोप्य सूचना बाहेक दिन मिल्ने सबै सूचना हरेक नागरिकलाई मागेको वेला दिन निर्देशन दिइएको छ ।
सूचनाको हक सम्वन्धी ऐन २०६४ र नियमावली २०६५ का बारेमा सबै जानकार हुनु पर्ने जोड दिइएको थियो । अभियानका क्रममा आयोजित कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरुले सूचनाको हक प्रभावकारी रुपमा कार्यान्वयन नभएकोमा ध्यानाकर्षण गराएका थिए । अभियानको क्रममा असोज ३ गते प्रत्येक सूचना अधिकारीलाई सूचनाको हक सम्वन्धी तालिम दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी पण्डितले सूचनाको हक कार्यान्वयन गर्न सके कुनै पनि कार्यालयले गर्ने काम प्रति कसैले औला उठाउन नसक्ने वताए । जिल्ला स्थित सेवा प्रदायक सबैले सूचना अधिकारी अनिवार्य तोक्नु पर्ने र सूचनाको हकको मर्म अनुरुप कार्य गर्न समेत निर्देशन दिइएको छ ।
प्रकाशित मिति: ३ भाद्र २०७३, शुक्रबार १३:३८