सुर्खेत, ३ भदौ । गत वर्ष सुर्खेतमा ५१ वटा गाडी दुर्घटना भएका छन भने गत साउन महिनामा मात्रै १० वटा सवारी सधानको दुर्घटना भएका छन् ।
गत वर्ष भएका गाडी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाए भने ४३ जना गम्भिर घाइते भए । सवारी दुर्घटना हुनमा गाडीको अवस्था र पहाडी सडक र चालकको लापरवाहीका कारण हुने गरेको ट्राफिक प्रहरीको अनुसन्धानले बताएको छ । पुराना गाडीहरु समयमा मर्मत हुन नसक्नु र पुराना गाडीहरुलाई पहाडी क्षेत्रमा सञ्चालन गर्ने भएकाले दुर्घटना हुने गरेको प्राविधिकहरुले बताएका छन् ।
पहाडी क्षेत्रका साँघुरो बाटो र वर्षातका कारण दुर्घटना हुने गरेको गाडी बनाउने मिस्त्री खड्कबहादुर विश्वकर्माले बताए । पहाडी रुटमा चल्ने गाडीहरु कुनै एकै दिनमा सर्भिसिङ गर्नुपर्ने हुन्छ भने कुनै महिना दिनमा सर्भिसिङ गर्नु पर्ने उनको भनाई छ ।
पुराना गाडीहरुलाई रंगरोगन र समान्य मर्मत गरी सञ्चालन गरिने भएकाले सवारी दुर्घटना हुने गरेको छ । पुराना गाडीलाई विस्थापित गरी नयाँ गाडी सञ्चालन गर्न स्थानीय समितिहरुले सहमति नदिने भएकाले पुराना गाडीहरु लामो रुटमा सञ्चान हुने गरेका छन् । पुराना गाडीहरु बाहिरीरुपमा हेरिने र खराव अवस्था भएका गाडीहरुलाई कार्वाही गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । इन्जिनको अवस्थावारे जाँच गर्न ट्राफिक प्रहरीले नसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निरिक्षक हर्कबहादुर रावलले बताए ।
पुराना गाडीहरुको चेकजाँच गरी जाँचपास दिने अधिकार यातायात व्यवस्था कार्यालयको भएकाले उनीहरुले दिएको जाँचपासका आधारमा गाडी सञ्चालन गर्न दिने टाफिक प्रहरीले जनाएको छ । यातायात व्यवस्था कार्यालय सहितको टोली बनाएर सवारी साधनको चेकजाँच गर्ने तयारी भइरहेको ट्राफिक निरिक्षक रावलले बताए ।
सवारी साधानका केही त्रुटिहरुलाई ट्राफिकले कावाही गर्न नमिल्ने भएकाले यातायात व्यवास्था विभागले कावाही गर्ने गरी संयुक्त टोली बनाएर कार्वाही गरिने उनको भनाई छ । गाडीको अवस्था चेकजाँच गर्ने प्रविधि यातायात व्यवस्था कार्यालयमा हुने र उनीहरुले गाडीको अवस्था अनुसार जाँचपास दिने गरिन्छ । यातायात व्यवस्था कार्यालयले पुराना गाडिहरुलाई चेकजाँच गरी त्रुटि देखि मर्मतमा पठाउनु पर्ने प्रावधान रहेको छ ।
यातायात व्यवस्था कार्यालय अनुसार २० वर्ष पुराना सार्वजनिक यातायातका साधानहरु सञ्चालन गर्न नपाइने प्रावधान रहेको छ । यस्ता पुराना गाडीहरुको नविकरण नहुने यातायात व्यवस्था इकाइ कार्यालय सुर्खेतका प्रमुख श्रीशम्सेर रानाले बताए । पुराना गाडीहरुको अवस्था चेकजाँच गर्ने भेहकल फिट्नेस सेन्टर काठमाडौंमा मात्रै रहेकाले अन्यत्र जिल्लाका गाडीहरुले चेकजाँच नगर्ने गरेको उनले बताए ।
पहाडी रुटमा सञ्चालन हुने गाडीहरुको रंग, सिट र धुवाँका आधारमा जाँचपास दिने गरेको कार्यालय प्रमुख रानाले बताए । पुराना गाडी चल्ने अवस्थामा भए नभएको जानकारी विनानै नविकरण गरिने भएकाले दुर्घटना समेत बढ्ने गरेको छ ।
प्रकाशित मिति: ३ भाद्र २०७३, शुक्रबार १३:२२