सुर्खेत, ३ भदौ । सीमांकनको खाका सार्वजनिक भए लगतै आपनत्व गुमेको महसुस गरेका सुर्खेती वासिन्दाले थालेको आन्दोलन ज्यान गुमाएका तीन जनालाई सरकारले सहिद घोषणा गरेको छ ।
मध्यपश्चिमका भेरी र कर्णालीका जिल्ला सुदुरपश्चिममा गाभिंदा आफ्नो पहिचान गुम्ने भएपछि स्वस्फूत रुपमा भएको आन्दोलनमा प्रहरीको गोली लागि सुर्खेतका टिकाराम गौतम, यामबहादुर विसी र गोपालसिंह रजवार तथा जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । सरकारले आन्दोलनमा मृत्यु भएका गौतम, विसी, रजवार र कुँवरलाई बिहीबार सहिद घोषणा गरेको हो ।
सरकारले ६ वटा प्रदेशमा विभाजन गरी सुर्खेत, दैलेख र जाजरकोटसहित कर्णालीलाई सुदुरपश्चिममा गाभेपछि सुर्खेत र जुम्लाका जनताले आफ्ना संस्कृति, भाषा तथा पहिचान गुम्ने भएको भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने माग राख्दै आन्दोलन थालेका थिए ।
सुर्खेतको आन्दोलनले चार्को दवाव दिएपछि सरकारले ७ वटा प्रदेशको घोषणा गरि कर्णालीसहित सुर्खेत, दैलेख, जाजरकोट र सल्यानलाई जोडेर छैठौ प्रदेश बनाइएको हो । सरकारले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा सहिद परिवार हर्षित भएका छन् ।
शहिद परिवारले आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेर सरकारले सम्मान दिएकोमा खुसी व्यक्त गरेका छन् । आन्दोलनका क्रममा यस क्षेत्रमा प्रहरीको गोली लागेर सुर्खेतमा ३ र जुम्लामा १ गरी ४ जनाको मृत्यु भएको थियो । आन्लोलनमा घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपाचार गरेको छ भने आन्दोलनमा ज्यान गुमाएकाहरुलाई १० लाख राहत दिनेसमेत घोषणा गरेको छ ।
आन्दोलनमा रजवारलाई स्थानीय मंगलगढी चौकमा तथा गौतम र विसीलाई धमाला चौकमा प्रहरीको गोली लागि मृत्यु भएको थियो । सहिद परिवारले आन्दोलनमा मृत्यु भएको स्थानलाई उनीहरुको नामबाट चौकको नामाकंरण गर्नुपर्ने समेत माग गरेका छन् ।
प्रकाशित मिति: ३ भाद्र २०७३, शुक्रबार ११:४६