बैतडी, ३ भदौ । बैतडीको तल्लादेही–८ डाँडाखालीमा जमिन भासिएपछि स्थानीय बासिन्दा विद्यालयमा आश्रय लिएर बसेपछि पठनपाठन अवरुद्ध भएको छ ।
गत साउन २१ गते राति परेको वर्षाले आएको पहिरोका कारण चार घरपरिवार घरबारविहीन भएका छन् भने अन्य परिवार पनि जमिन भासिएपछि त्रसित बनेका छन् ।
चार घरपरिवार वस्तुभाउसहित विद्यालयमा बस्न थालेपछि स्थानीय लोखाडी प्राविमा पठनपाठन कार्य अवरुद्ध भएको हो । पठनपाठन कार्य अवरुद्ध हुँदा बालबालिका समस्यामा परेको तल्लादेही गाविसका सचिव डम्बरबहादुर बिष्टले जानकारी दिए ।
यही साउन २२ गतेदेखि चार घरपरिवार विद्यालयमै बसिरहेका छन् भने अन्य पनि रातिको समयमा विद्यालयमा बस्ने गरेको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । पीडितको पुनस्र्थापनाका लागि पहल भइरहेको समेत उनले जानकारी दिए ।
तत्कालका लागि चार घरपरिवारको पुनस्र्थापनाका लागि प्रयास गरिने प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिए । ५२ परिवार बसोबास गर्दै आएको डाँडाखाली जमिन भासिएर करिब डेढ फिट तल सरेको बताइएको छ ।
यसैबीच, तल्लादेहीका पहिरोपीडित परिवारको अस्थायी बसोबासको व्यवस्था मिलाउनका लागि शुक्रबार प्राविधिकको टोली तल्लादेही जाने भएको छ । टोलीले पहिरोबाट प्रभावित परिवारका लागि सम्भावित स्थानको खोजी गर्ने प्रजिअ चौधरीले जानकारी दिनुभयो । उनले तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था मिलाइने र तल्लादेहीको डाँडाखालीमा बस्ती नै अन्यत्र सार्नुपर्ने अवस्था आएपनि तत्कालका लागि घरबारविहीन भएका चार घरपरिवारलाई पुनस्र्थापनाका लागि प्रयास भइरहेको छ भने ।
पीडितको परिवारका लागि राहतका सामग्री जुटाउने कामसमेत भइरहेको प्रजिअ चौधरीले बताए । उनले भने , “प्राविधिक टोलीले सम्भावित ठाउँको अध्ययन गरेलगत्तै पीडित परिवारलाई पुनस्र्थापनाको काम सुरु हुनेछ ।” यसअघि पनि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पीडित परिवारलाई राहत वितरण गरिएको थियो । रासस